भुकम्प पिडितलाई सघाउदै माओबादी

२०७२ बैशाख २० गते, आईतवार

काठमाडौं, २० बैशाख । नेकपा माओवादी भुकम्पबाट पिडितहरुलाई सघाउन घरदैलो कार्यक्रममा जुटेको छ । यसैक्रममा आज माओवादीले महाविनाशकारी भुकम्पबाट पीडितहरुको उद्धारका लागि थालेको अभियानका क्रममा टोखामा भत्केका घरहरु निर्माणमा जुटेका छ । यसै शिलसिलामा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता प्रकाण्ड र नेता धर्मेन्द्र बास्तोला सहितका नेताहरु टोखामा पुगेर भत्केका घरहरु बनाउने काममा जुटेका हुन् । टोखा नगरपालिकाको वार्ड नं ८ झोर भन्ने ठाउँमा उनीहरु सर्वसाधारणका घर बनाउन जुटेका हुन् । यसअघि माओवादीले राजधानीका बिभिन्न ठाउँमा फोहोर सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो ।
काठमाडौं, ललितपुर, भक्तपुरका बिभिन्न ठाउँमा गरिएको सरसफाईका क्रममा महासचिव विप्लवलगायतका नेताहरु बालाजु बसपार्क र कालिमाटी तरकारी बजार क्षेत्रको सरसफाईमा सहभागी भएका थिए । त्यसैगरी भुकम्पबाट घाइते भएकाहरुका लागि रक्तदान कार्यक्रम पनि राखेको थियो । सो क्रममा महासचिव विप्लवले पनि रक्तदान गरेका थिए ।
माओवादीले राजधानी बाहिरका जिल्लाहरुमा पनि उद्धारका लागि केन्द्रीय सदस्यहरुको नेतृत्वमा आफ्ना कार्यकर्ताहरु परिचालन गरेको छ । केही जिल्लामा विप्लव आफै उद्धारमा जुटेका छन् । त्यसका लागि गोरखामा केन्द्रीय सदस्य सावित्रा दुराको नेतृत्वमा राष्ट्रिय युवा जनस्वयमसेवकको टोली परिचालन भएको छ ।
त्यसैगरी सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य बाबुराम गजमेर, रसुवा र नुवाकोटमा केन्द्रीय सदस्य चिरन पुन, धादिङमा मोहन कार्कीको नेतृत्वमा टोली परिचालन गरेको छ । साथै माओवादीले अन्य जिल्लाबाट राहत सामाग्री संकलन गरेर प्रभावित क्षेत्रमा वितरण गरिरहेको छ ।

प्रतिक्रियाहरु