भिटामिन ‘ए’ खुवाइँदै

२०७१ बैशाख ६ गते, शनिबार

काठमाडौं, ६ वैशाख ।सरकारले मुलुकभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तरगत बैशाख ६ र ७ गते देशभर भिटामिन ‘ए’ खुवाउन लागिएको हो ।६ महिनादेखि ५ वर्ष सम्मका करिब २४ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ । साथसाथै १ वर्ष देखि ५ वर्ष सम्मका २२ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
मुलुकभरका नगरपालिका र गाउँ विकास समितिका हरेक वडामा तोकिएका केन्द्रहरुमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने व्यवस्था मिलाएकोमन्त्तालय अन्तरगत बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।यस कार्यक्रममा ५३ हजार महिला स्वास्थ्य स्वयम सेविकाको प्रत्यक्ष सहभागीता हुने महाशाखाका निर्देशक श्याम राज उप्रेतीले जानकारी दिए ।
‘बाल मृत्युदर घटाउने, भिटामिन ‘ए’ को कमीले हुने आँखा सम्बन्धी रोगहरुको रोकथाम गर्ने, र यसको कमीलाई स्वास्थ्य सम्बन्धी समस्याका रुपमा रहन नदिने उदेश्यले २०५० सालदेखि बालबालिकालाई भिटामिन ए खुवाउन थालिएको हो,’ उनले भने, ‘नियमित रुपमा यो कार्यक्रम सञ्चालन भए यता हरेकवर्ष करिब १२ हजार बालबालिकालाई अकाल मृत्युबाट बचाउन सकिएको तथ्याङ्क छ ।’
राष्ट्रसंघीय बालकोष (युनिसेफ)को एक अध्ययनले भिटामिन ‘ए’ को नियमित कार्यक्रमले नेपालमा वर्षेनी १२ हजार बालबालिकाको ज्यान बचेको तथ्याङ्क छ । बिभिन्न रोगहरु बाट बचाउन सबैले आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन उनको आग्रह छ ।

प्रतिक्रियाहरु