भारतीय हस्तक्षेप एक प्रमुख चुनौती – झपेन्द्रराज बैद्य

२०७५ बैशाख २१ गते, शुक्रबार

नेपाल र भारत असल छिमेकी हुन। यसमा कुनै शंका छैन। कला,साहित्य, सँस्कृति ,प्रकृति , प्रबृति र बृतिमा पनि दुबै देश समान छन्। नागरिक समान छन्। बिहेवारी चल्छ। हिन्दूधर्ममा बिश्वास राख्नेहरुमा तिहार रक्षाबन्धन ईत्यादि चाडपर्वहरु समानरुपमा मानिन्छन्। खुला सीमा छ। घर माइत आवत जावत गर्छन् मधेशीहरु। यति हुदाहुदै पनि भारतीय शासक बर्ग र नेताहरुले नेपाललाई हेपाहा दृष्टिले हेर्छन।
भारतले नेपाललाई सिक्कीमीकरण बनाउन खोजेको छ। सुरक्षामा आफ्नो नियन्त्रणमा राखेको अनुभूति हुन्छ। भारतले मुस्ताङ् लगायत ८वटा हिमाली जिल्लामा आफ्नो शैनिक चेकपोष्ट राखेको छ। नेपालको राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति दिल्लीबाट चलेको आभास हुन्छ। तीनतिर भारत जोडिएको र उत्तर चीनको हिमालीबाटो कठीनाइ भएकोले नेपाललाई भौगोलिकरुपले भारतसंग परनिर्भरता हुनुपरेको छ। यसको लाभ भारतले उठाउदै आएको छ। चीनतिर ढल्केको देखेमा नाकाबन्दी लगाएर सास्ती दिन्छ भारत। २०४५सालमा पूर्व राजा बीरेन्द्र र प्र.म. मरिचमान सिंहको पालामा नेपालले चीनबाट हतियार ल्यायो भन्ने निहुँमा भारतले नाकाबन्दी लगाएको हो। २०२७ मा पनि नेपालले नाका बन्दीको कष्ट सहनु परेको हो। उसबेला ११६ राष्ट्रहरुले नेपाललाई शान्ति क्षेत्र मान्दा पनि भारत शान्ति क्षेत्र मान्न तयार भएन। भारतले नेपालका प्रत्येक सेनापतिलाई मानार्थ महारथीको सम्मान दिने चलन छ। तर तत्कालीन प्रधान सेनापति सच्चित संसेरलाई सम्ंमान दिएन। बफर स्टेटकोरुपमा छ नेपाल। सन् १९७५ मा सिक्कीमलाई भारतमा बिलय गराउदा ५९ हजार ६ सय ३७ जनाले मतदान गर्दा १४ सय ९६ जना सिक्कीम बासीलेमात्र सिक्किम स्वतन्त्र हुनुपर्छ भनेर मत जाहेृर गरेका थिए। प्रजातन्त्रमा सधै बहुमतले सही निर्णय गर्छ भन्ने हुदैन। यस परिप्रेक्षमा बाम गठबन्धन शंकाको बादल भित्र छ। सिक्कीममा काजी लेण्डुपे दोर्जे र नरबहादुर खतिवडा आदिको नेतृत्वमा सिक्किम त गाभियो भारतमा तर लेण्डूपे यसरी जनताबाट खसे कि पछि भएको प्रन्तीय चुनाबमा जमानत समेत जफत हुने तरिकाले उठ्नै नसक्नेगरी पछारिए। दलाल समाजिक पुँजिबादका नाइकेहरुको पनि यस्तै हालत नहोला भन्न सकिन्न। आशा छ देशको स्वाभिमानमा आँच आउने छैन। तर भारतको दयामा सत्ता टिकाउने एजेन्टहरुको बिश्वास गर्न सकिदैन। जनताको बिरोधका स्वरहरु बिरुद्ध यही जेठ २८ गते भारतीय प्र.म. नरेन्द्र मोदी नेपालको भ्रमणमा आउदा अरुण तेस्रो उद्घाटन गर्ने कार्यक्रम सुनिन्छ। यसो नहोस्। अन्यथा ठूलो नकारात्मक असरपर्ने देखिन्छ।
भारततर्फबाट हुने असमान सन्धीहरुबारेमा नेपालले आजसम्म चूँ पनि गर्न नसकिरहेको अवस्था छ। नेपालको ७१ स्थनमा ६० हजार ६ सय २० हेक्टर जमीन भारतले कब्जागरेको छ। (सीमा बिद बुद्धिनारायण श्रेष्ठ अनुसार)। भारतको नेपालसँग १७५१ की.मी.लामो खुला सीमा छ। यसमा भारतसँग जोडिएका २६वटा जिल्ला मध्ये २२ वटा जिल्लाका ६२ ठाउँबाट सीमा अतिक्रमण भएको देखिन्छ। एउटै मान्छे दुबैतिर नागरिक भएको छ। साँस्कृतिक अतिक्रमण छ। अबैध ब्यापार,नेपाली युवतीहरुको बेच बिखन, हतियारको तस्करी, डकैती गुण्डागर्दी आदिको नेपालले सामना गर्नुपरेको छ। जुन जोगी आए पनि कानै चिरेका भने जस्तो जुन सरकार अए पनि अतिक्रमण रोकिएन। भारतले नेपालमा आएर उद्योग त खोलिदिन्छ। प्र.म.बाट बिदेशी लगानी कर्तालाई आह्वान गरिएको छ। तर हेक्का राख्नुपर्छ राट्रिय उद्योग तप्केनीमा परेर सेलाउने छन्। प्रतिस्पर्धामा नेपाली उद्योग टिक्नसक्ने छैनन्। भारतले सित्तैमा पानी लग्छ। फेरि नेपालले त्यही पानी किनेर खानुपर्छ। भारतलाई दिने पैसा कमाउन मलेसियामा जानुपर्छ। भारतीय हस्तक्षेपले गर्दा भूगोलमात्र होइन नेपाली पहिचान पनि मेटिदै गएको छ। हिन्दी फिल्मले गाँजेको छ नेपाल। कतिपय आवासीय बिद्यालयमा हिन्दीका किताबहरु पढाइन्छ। क्रिष्चियनले हात हालेको छ कतिपय बिद्यालयहरु। अंगीकृतको नाताले भारतीय नागरिक नेपालमा मंत्री बनेका छन्। जब कि सोनिया गान्धी इटालीको चेली भएका नाताले भारतको प्रधानमंत्री बन्न सकिनन्। भारतमा अंगीकृत नागरिक मंत्री बन्न पाउदैनन्। तर नेपालमा भने भारतीय प्रभावले यसको लेखोजोखो छैन। नेपालका मंत्रीहरु बिकेर नै असमान सन्धी संझौता भएका छन्। कोशी संझौतागर्ने मातृका हुन। गण्डक असमान संझौतागर्ने बि.पी. हुन भने टनकपुर संझौतागर्ने गिरिजा कोइराला हुन। एउटै बाउका तीन छोराहरु। सिंगै महाकाली प्याकेज संझौतागर्ने चाँही खड्ग प्रसाद ओली समेत एमालेका नेताहरु हुन्। यसमा बामदेब गौतमले भने बिरोध गरेको बुझिन्छ। अहिले कोशी उच्च बाधको बिरोध गर्ने कुरा त कता हो कता। अझ त्यसलाई उच्च बनाएर जहाज ल्याउने कुरा चलिरहेको छ। यसले तराइका ३१ जिल्ला डुवानमा पर्ने निश्चित छ। यो बाहेक लक्ष्मणपुर बाध,खर्दलोटन बाध, तिलाठी बाध आदि बाधले नेपाललाई बेलामौकामा डुवानमा पारेको हुन्छ। यसै सन्दर्भमा कल्भर्टलाई निहुँ बनाएर गत साल गोबिन्द गौतमको हत्या गरियो। यसबाहेक २०६७ सालमा भातीय एस एस बीले बर्दियाका स्थनीय हर्क बहादुर शाहीलाई नियन्त्रणमा लिई हत्या गरेको हो। यसको प्रतिरोधमा सरकारले सशक्त भूमिका खेल्न सकेन। यस्तै बर्दिया गुलरियाका राम दुलारेलाई पनि हत्यागरेर भारतले आफ्नो सक्कली अनुहार देखाएको हो। स्थानीय बासीको बिरोधस्वरुप पर्साको ठोरीमा भारतले दाबी गर्दै आएको एक सय रोपनी जमीन नेपालकै भएको छ। उक्त ठाउमा सीमा स्तंभ गाडिएको छ। तर कैयौं ठाउहरुमा सिमास्तंभ सारिएका छन्। यसको बेखबर छ सरकार।
राजनैतिक बृतमा हेर्ने हो भने लम्पसारबादी छ सरकार। ससाना उद्योगहरुलाई पनि भारतलाई सुम्पिने नीति तयार भएको छ। भारत परस्त मानिने शेरबहादुर देउवाले समेत यसको बिरोध गरेका थिए भने वलीको राष्ट्रबाद कहा गयो? लिपुु लेकलाई भारतीय नाका? एयरपोर्टमा भारतीय मार्शल, १९५० को असमान सन्धी आदि बारे समाधानका कुरा खोज्ने कि नखोज्ने? अहिले मोदीको आशन्न भ्रमणमा यी कुराहरुको छिनोफानो गर्नसक्नुपर्छ। अहिले मोदीको नेपाल भ्रमण भनेको चीन बिरोधी नीति हो। नेपालमा चीनलाई पस्न नदिनु। यसैले अहिले मोदीको नेपाल भ्रमण बेमौशमी बाजा हो। राष्ट्रियताको लागि प्रत्येक नेपाली सजक रहनुपर्छ। बिगतको तीतो अनुभव छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु