भारतीय पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…

२०७४ पुष २७ गते, बिहीबार

काठमाडौं, २७ पुस । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीसँग लन्डन पुगेका पत्रकारहरु होटलको टेबुलबाट काँटाचम्चा चोर्दै गरेको अवस्थामा रंगेहात फेला परेका छन् । आफ्नो राज्यमा लगानी जुटाउने उद्देश्यले युरोप भ्रमणमा गएकी मुख्यमन्त्री ममताले केही पत्रकारलाई पनि साथमा लगेकी थिइन् । ममतालाई लन्डनमा विशेष रात्रिभोजका लागि एक होटलमा बोलाइएको थियो । रात्रिभोजमा उच्च पदस्थ कर्मचारी, उद्योगपतिहरु र भारत तथा बेलायतका केही प्रख्यात हस्तीसमेत थिए । रात्रिभोजका दृष्य उच्चस्तरका सिसिटिभी क्यामेराले कैद गरिरहेको थियो । तर केही भारतीय पत्रकारले धमाधम टेबलबाट चाँदीका चम्चाकाँटा आफ्नो ब्यागमा हालिरहेका थिए ।
होटल प्रशासनले सिसिटिभी क्यामेराबाट सो दृष्य हेरिरहेको भए पनि तत्काल कुनै प्रतिक्रिया जनाएको थिएन । तर रात्रिभोज सकिनै लाग्दा भने होटलका केही कर्मचारी आएर ती पत्रकारलाई उनीहरुको कर्तुत आफूहरुलाई जानकारी भएको बताएका थिए । केही पत्रकारले काँटाचम्चा फिर्ता गरे पनि एकजनाले भने आफूले नचोरेको दावी गर्दै आएका थिए ।
होटलका कर्मचारीले ती पत्रकारलाई प्रहरीमार्फत आवश्यक कारवाही हुने धम्की दिएपछि भने उनले गल्ती स्वीकार गरेको बताइएको छ । उनलाई ५० डलर जरिवानासमेत तिराइएको थियो ।
घटनाबारे जानकारी पाएपछि मुख्यमन्त्री ममता ती पत्रकारप्रति रुष्ट भएको बताइएको छ । भारतीय संचारमाध्यमले उक्त घटनाबारे समाचार प्रकाशमा ल्याए पनि होटलको काँटाचम्चा चोरीमा संलग्न पत्रकारको पहिचान खुलाएका छैनन् । यद्यपि ती पत्रकार पश्चिम बंगालमा अग्रज मानिने र ममता बनर्जीसँग वर्षौंदेखि निकट रहँदै आएका बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु