भारतीय धर्मगुरु आशाराम बापू बलात्कारी ठहर

२०७५ बैशाख १२ गते, बुधबार

काठमाडौं, १२ बैशाख । भारत जोधपुरको विशेष अदालतले भारतीय धर्मगुरु आशाराम बापूलाई नाबालिग बलात्कारमा दोषी ठहर गरेको छ । अहिले उनलाई कति सजाय गर्ने भन्नेमा भने बहस भइरहेको छ । कति वर्ष जेल सजायँ हुने भन्ने फैसला हुन बाँकी रहेपनि दश वर्षसम्म सजायँ हुन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ७७ वर्षका आशाराममाथि २०१३ मा आश्रममा १६ वर्षकी किशोरीको बलात्कार गरेको आरोप लागेको थियो । किशोरीका आमाबुबा आशारामका भक्त थिए । एक दिन स्कुलमा किशोरी लडेपछि बाबुआमाले उनलाई आश्रममा लिएर गए । त्यही आश्रममा आशारामले किशोरीलाई बलात्कार गरेको प्रहरीको दावी छ । १५ अगष्ट २०१३ मा बलात्कृत भएकी किशोरीले पाँच दिनपछि प्रहरीमा उजुरी दिएका थिए । इन्दौरबाट पक्राउ गरिएका आशाराम अहिले पनि प्रहरी हिरासतमा छन् ।-एजेन्सी

प्रतिक्रियाहरु