भारतीय कायर हुन् : आइएस

२०७२ मंसिर ८ गते, मंगलवार

काठमाडौं, ८ मंसिर । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले भारतीय नागरिकलाई ‘कायर’ को दर्जामा राखेको छ । उसले आफ्नो संगठनमा लडाकु बन्नका लागि भारतीय नागरिक ‘अयोग्य’ हुने ठहर गरेको हो । अन्तर्राष्ट्रिय सुरक्षा एजेन्सीले तयार पारेको प्रतिवेदनमा आइएसले भारतीय नागरिकलाई लडाकु भर्तीमा दोयम दर्जा दिने गरेको खुलाइएको हो । उक्त प्रतिवेदन हालै भारतीय सुरक्षा एजेन्सीले हासिल गरेपछि यो तथ्य प्रकाशमा आएको हो । प्रतिवेदनअनुसार आइएसले अरब राष्ट्रका नागरिकको तुलनामा भारतीय नागरिकको मानसिकता कमजोर मान्ने गरेको छ । यद्यपी आइएसमा केही भारतीय पनि सामेल भएको बताइन्छ । तर उनीहरुलाई अरब राष्ट्रका नागरिकको तुलनामा तलब र हतियारमा भेदभाव गरिदैं आएको पनि प्रतिवेदनमा उल्लेख छ । आइएसले भारतीयलाई थोरै तलव र सामान्य हतियार दिने गरेको बताइन्छ ।
‘आत्मघाती हमलाका लागि पनि भारतीयहरु आइएसको पहिलो रोजाई बन्न सकेका छैनन्,’ प्रतिवेदनलाई उद्धृत गर्दै विभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् । आइएसमा सामेल भारतीयलाई झुक्याएर आत्मघाती हमलामा प्रयोग गर्दै आएको बताइन्छ । आत्मघाती हमलामा भारतीयलाई प्रयोग गर्नुपरेको अवस्थामा कुनै सामान लैजाने बहानामा भारतीय लडाकुका साथ विस्फोटक पदार्थ पठाउने र मोबाइल फोन वा रिमोट कन्ट्रोलका माध्यमबाट विस्फोट गराउने काम आइएसले गर्दै आएको सो प्रतिवेदनमार्फत सार्वजनिक भएको हो । कमजोर मानसिकताकै कारण भारतीय नागरिक स्वयंले आत्मघाती विस्फोट गराउन नसक्ने पनि सो प्रतिवेदनमा उल्लेख छ ।
भारतबाट हालसम्म २३ जना आइएसमा सामेल भएको र तीमध्ये ६ जना मारिएको जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु