भारतीय अतिक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन गरिँदै

२०७६ मंसिर २२ गते, आईतवार

काठमाडौँ , २२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले भारतीय अतिक्रमणविरुद्ध आज भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने बताएको छ । सो पार्टीले सरकार राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवाद सामु लाचार बनेको ठोकुवा गर्दै भारतीय अतिक्रमणबिरुद्ध चरणबद्ध संघर्ष गर्दै आएको छ । संघर्षका कार्यक्रमहरुअन्तर्गत गत मंसिर १५ गते जुलुस प्रदर्शन्, १७ गते काठमाडौँमा अन्तरक्रिया, १९ गते सीमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार र २० गते नक्सा प्रदर्शनलगायतका कार्यक्रमहरु सम्पन भएका छन् । भारतले नेपालीभूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा समावेश गरेपछि पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गरेको नेकपाले अघिल्लो शनिबार दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो । सो पार्टीका प्रवक्ता प्रकाण्डले प्रेस विज्ञप्ति जारी गर्दै भारतीय अतिक्रमणबिरुद्ध पुनः संघर्षका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेका थिए । संघर्षका कार्यक्रमहरुअन्तर्गत जुलुस प्रदर्शन, अन्तरक्रिया, सीमा बचाउ अभियानद्वारा जारी नक्सा प्रचार तथा नक्सा प्रदर्शन, भारतीय दूतावास अगाडि प्रदर्शन, ज्ञापनपत्र बुझाउने र साहित्यिक कार्यक्रम रहेका छन् ।
प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा वर्तमान केपी सरकार राष्ट्रियताको रक्षा गर्ने सवालमा साम्राज्यवाद सामु लाचार बनेको ठोकुवा गरिएको छ । विज्ञप्तिमा देशको माटो रक्षार्थ उठेको आक्रोश, पीडा, आन्दोलन र पहलकदमीलाई भारतीय साम्राज्यवादको निर्देशन र मालिक रिझाउने नियतले निरुत्साहित गर्न आक्रमण गर्ने गरेको भन्दै नेकपाले सरकारको आत्मसमर्पणवादी र दलाल प्रवृत्ति सशक्त आन्दोलनको धक्काबाहेक अरु कुनै तरिकाले पराजित नहुने कुरा उल्लेख गरिएको छ ।

प्रतिक्रियाहरु