भारतलाई नाकाबन्दी निल्नु न ओकल्नु

२०७२ आश्विन १६ गते, शनिबार

काठमाडौँ । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि विश्वभर उसको छवि बिग्रिएको छ । संयुक्त राष्ट्र संघलगायत चीन, पाकिस्तानसहितका देशहरुले भारतको यो कदमको विरोध जनाएपछि भारतलाई अघोषित नाकाबन्दी निल्नु न ओकल्नु भएको छ । नेपालको आन्तरिक मामिलामा पटक–पटक हस्तक्षेप गर्दै आएको भारतलाई नेपालका राजनीतिक दल र नेपाली जनताले यो पटक राम्रो पाठ पढाएका छन् । नेपालमा गरेको यो अघोषित नाकाबन्दीका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि विश्वभर धुमिल हुन पुगेको छ । नेपाली राजनीतिक दल र जनताले भारतसामु कुनै हालतमा नझुक्ने बताई विषयलाई अन्तर्राष्ट्रियकरण गरिदिएपछि भारतको निद हराम भएको छ । नेपाललाई नाकाबन्दी गरे भारतलाई पनि नस्वीकार्ने नीति नेपाली जनताले लिइसकेका छन् ।
यसैक्रममा नेकपा माओवादीले जुलुस नै निकालेर भारतको कदमको खुलेर विरोध गरेको छ । राजधानीको शान्तिबाटिकाबाट सुरु भएको जुलुस भारतीय राजदूतावास अगाडि पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै माओवादीका प्रवक्ता प्रकाण्डले भारतसामु कुनै हालतमा नझुक्ने भन्दै भारतले नाकाबन्दी गरेको विरुद्धमा नेपालमा भारतीय नम्बरप्लेट भएका सवारी गुड्न नदिने, हिन्दी टिभी च्यानल, गीत र चलचित्र चल्न नदिने उद्घोष गरे । माओवादीले यो उद्घोष गरेसँगै अहिले नेपालभर भारतीयप्रतिको घृणा तीव्र बनेको छ । आमजनता कुनै हालतमा भारतसामु नझुक्ने, राजनीतिक दल र नेताहरुलाई पनि कुनै हालतमा नझुक्न खबरदारी गरिरहेका छन् ।
यसैबीच, भारतीय हस्तक्षेपको बिरोधमा युवा, विद्यार्थी, कलाकारदेखि सर्वसाधारण नेपाली सडकमा उत्रन थालेका छन् । सोही क्रममा शुक्रबार राष्ट्रिय स्वाधीनता अभियान नेपालको ब्यानरमा ठूलो संख्यामा प्रदर्शनकारीहरू भारतीय नाकाबन्दीको बिरोध जनाउन सडकमा उत्रिए । उनीहरूको एक स्वर थियो– ‘वैदेशिक हस्तक्षेप मान्दैनौं ।’ ‘पारवाहन सुविधा हाम्रो हक, वैदेशिक हस्तक्षेप मान्दैनौं’ लेखिएको ब्यानर, प्लेकार्ड बोकेका र सोही सन्देश लेखिएका टिसर्ट लगाएका युवाहरूको उल्लेख्य उपस्थितिमा प्रदर्शन भएको छ । शान्तिवाटिकामा भेला भएका प्रदर्शनकारीले पुरानो बसपार्क, सहिद गेट, सुन्धारा, वीर अस्पताल अगाडि हुँदै रत्नपार्कको शान्तिवाटीकामै पुगेर साँस्कृतिक सभामा परिणत भएको थियो । सभामा कलाकारहरूले गीत, व्यंग्य प्रस्तुत गरेका थिए भने युवा विद्यार्थीहरूले भारतीय हस्तक्षेपको विरोध गर्दै नेपाल सरकार र नेताहरूलाई नझुक्न आह्वान गरेका थिए । प्रदर्शनकारीले भारतीय सरकारका प्रमुख प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा चर्किएको स्वाधीनताको आवाज बेलैमा सुन्न आग्रह गरेका छन् । प्रदर्शनमा भारतविरूद्ध चर्काे नाराबाजी चलेको थियो । दिनभर चलेको सो प्रदर्शनमा कलाकारहरूले राष्ट्रियता झल्काउने प्रस्तुतिहरू गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु