भारतमा बर्डफ्लू देखियो

२०७४ चैत्र २३ गते, शुक्रबार

काठमाडौँ, २३ चैत । भारतका बिभिन्न ठाउँमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपाल र भारत सिमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । हालसम्म नेपालमा भने बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा एचनाइन लो प्याथोजेनिक संक्रमणले ठूलो संख्यामा कुखुरा मर्ने र उत्पादन घटेका कारण कृषक चिन्तित छन् । पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलका अनुसार नेपालका कुनै पनि क्षेत्रमा हालसम्म बर्डफ्लू देखापरेको छैन । यद्यपि भारतीय सीमा क्षेत्रमा बर्डफ्लु देखिएका कारण त्यसका निकटमा रहेका नेपालको रुपन्देही, कपिलवस्तु, नवलपरासी र चितवन जिल्लामा उच्च सतर्कता अपनाइएको छ । बिहीबार उच्चस्तरीय प्राविधिकको बैठक बसी शुक्रबारबाटै सहसचिवको नेतृत्वमा ती जिल्लामा अनुगमन गर्ने निर्णय भएको उनले बताए ।
प्रयोगशाला र सर्वेक्षणको समूहले स्थलगत रुपमा उच्च जोखिममा रहेका जिल्लामा अनुगमन गर्नेछ । ती जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको बर्डफ्लु नियन्त्रण समन्वय समितिको बैठक बसी उच्च सतर्कता अपनाउनका लागि काम थालेको उनले बताए । भारतीय क्षेत्रबाट पोल्ट्रीजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाइएको बताउँदै उनले केही दिनअघि चितवनमा ठूलो मात्रामा भारतबाट ल्याइएको कुखुराको मासु नियन्त्रण गरी नष्ट गरिएको बताए । गर्मी महिनामा बर्डफ्लु नदेखिने भए पनि एचनाइनको प्रकोप बढ्दै गएका कारण सीमा क्षेत्रमा रोग देखिएकाले जैविक सुरक्षा अपनाउन विशेष निर्देशन दिइएको पनि महानिर्देशक निर्मलले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु