भारतभर आन्दोलन, थप तीनजनाको मृत्यु

२०७६ पुष ४ गते, शुक्रबार

काठमाडाैँ, ४ पुष । भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशभर आन्दोलन चर्किएको छ । सो क्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ । योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा मात्र २० ओटाभन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको थियो । पहिलोपटक मोबाइल सेवा अवरुद्ध पारिएको छ । सयौं व्यक्तिलाई पक्राउ गरिएको छ ।
प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले गोलीसमेत चलाएको छ ।
सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो । नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् ।
भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ । अंगीकृत नागरिकताका लागि भने ६ वर्षमात्र बसेको वा काम गरेको हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ । मुस्लिमहरुलाई भने कानुनले विभेद गरेको प्रदर्शनकारीहरुको आरोप छ ।
आलोचकहरुले भने प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष हिन्दु राष्ट्रको मुद्दा लिएर चुनावमा विजयी भएपछि उत्साहित भएर यस्तो निर्णय गरेको टिप्पणी गरेका छन् । उनीहरुले भारतलाई हिन्दुराष्ट्रको रुपमा भारतको आकार बदल्न र आफ्नो आधारशीला कमजोर पार्न लागिपरेको बताएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु