भारतबाट भित्रिएको गोलभेडा नष्ट

२०७५ पुष २८ गते, शनिबार

काठमाडौं, २८ पुस । स्वदेशी गोलभेँडाले मूल्य नपाएको बेला भारतबाट आयात गरिएको भन्दै नवलपरासीका किसानले भारतबाट भित्रिएको तीनवटा ट्रकका गोलभेँडा नियन्त्रणमा लिएर सडकमा पोखिदिएका छन् । आक्रोशित किसानहरुले बिहीबार राति भारतबाट गोलभेँडा लिएर नेपाल भित्रिएका ट्रकलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको थुम्की भन्ने ठाउँमा नियन्त्रणमा लिएर नष्ट गरेका हुन् । किसान चौतारी नेपाल, चितवनको ‘किसान टास्क फोर्स’को करिब ५० जनाको टोली टमाटर पोख्न नवलपरासी पुगेको थियो । किसानहरुले भारतीय ३२ एटी १७२१ नम्बरको ट्रकमा सामान्य क्षति पुग्ने गरी तोडफोड समेत गरेका छन् । आफ्नो उत्पादनको भाउ नपाएका अवस्थामाम दैनिक ठूलो मात्रामा सस्तो भारतीय गोलभेँडा नेपाल भित्ररिहेको छ । त्यसैका कारण आफूहरुले उत्पादन गरेको गोलभेँडा फाल्न बाध्य भएकेो स्थानीय कृषकले बताएका छन् ।
सरकारले स्वदेशी उत्पादनलाई बेवास्ता गरेर भारतबाट आयात गरेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । अझै पनि टमाटर भारतबाट ल्याइए नियन्त्रमा लिएर नष्ट गरिदिने किसान चौतारी नेपालका जिल्ला अध्यक्ष कृष्ण न्यौपानेले बताए । स्वदेशको उत्पादनले उचित मूल्य नपाउँदा किसानहरुले आत्महत्या गर्नु पर्नेसम्मको अवस्था सिर्जना भएको न्यापानेले बताए । उनका अनुसार किसान चौतारी नेपालले एक वर्ष अघि भारतबाट आयात हुने गोलभेँडालाई रोक्नकै लागि भनेर ‘किसान टास्क फोर्स’ नाम दिएर युवा दस्ता बनाइएको हो । न्यौपानेले सरकारले आफूहरुको माग पूरा नगरे सिंहदरबारअघि ‘आत्महत्या’ गर्ने चेतावनी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु