भारतद्वारा नियम विपरीत दशगजामा सुरक्षा पोष्ट स्थापना

२०७६ मंसिर २७ गते, शुक्रबार

काठमाडौं, २७ मंसिर । भारतीय एसएसबीले पश्चिम नवलपरासी जिल्लासँग सीमा जोडिएको दसगजा क्षेत्रमा नियम विपरीत पोष्ट स्थापना गरेको छ । नेपाल प्रवेश गर्ने विभिन्न नाकाका दसगजा क्षेत्रमै टाँसेर पोष्ट स्थापना गरेको पाइएको हो । पश्चिम नवलपरासी भारतको उत्तर प्रदेश र बिहारसँग सीमाना जोडिएको छ । सीमा क्षेत्र जिल्लाको पाल्हीनन्दन गाउँपालिका– ५ को चिमनटोलादेखि सुस्तासम्म छ । साढे २७ किलो मिटर लामो सीमा क्षेत्रका केही स्थानमा एसएसबीले दसगजाको जमिनमै पर्ने गरि पोष्ट निर्माण गरेको छ । प्रमुख जिल्ला अधिकरी शम्भुप्रसाद मरासिनीले केही स्थानमा एसएसबीले दसगजा क्षेत्रमा पर्ने गरी पोष्ट निर्माण गरेको बताए । सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ३ वटा बिओपी कार्यालय मात्र छन् । भारततर्फ भने एसएसबीका १० बढी पोष्टहरु रहेका छन् ।
यसैबीच जिल्लास्थित सुरक्षाअधिकारीको संयुक्त अनुगमन टोलीले दसगजा क्षेत्रमा निर्माण गरिएका केही सीमा स्तम्भ (पिलर) हरुको रङ रोगन मेटिएको अवस्थामा छ भने केहीको नम्बरहरु मेटिएको पाइएको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए । सीमा क्षेत्रमा १३ वटा प्रमुख र ३ वटा सहायक गरी १६ वटा सीमा स्तम्भहरु छन् । सीमा स्तम्भको मर्मत संभार दुवै देशले गर्नुपर्ने प्रावधान छ । सीमा स्तम्भका बारेमा पनि सम्बन्धित निकायमा जानकारी गराउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु