भारतको दिल्लीलगायतका क्षेत्रमा चुनाव हुदै

२०७० चैत्र २७ गते, बिहीबार


काठमाडौं ,२७ चैत। भारतमा लोकसभा निर्वाचन अन्तर्गत आज ११ राज्य र केन्द्र प्रशासित ३ प्रदेशको ९१ सिटका लागि मतदान भइरहेको छ । राष्ट्रिय राजधानी दिल्लीको सबै ७ सिटका साथै हरियाणा, उत्तरप्रदेश, महाराष्ट्र र उडिसाका १०, मध्यप्रदेशका ९, बिहारको ६, झारखण्डको चार र केरलाका सबै २० सिटका लागि मतदान भइरहेको हो ।
यस्तै छत्तीसगढ, जम्मुकाश्मिर, चण्डीगढ, अण्डमान निकोवार र लक्षद्वीपका एक/एक सिटका लागि पनि बिहीबार नै मतदान हुँदैछ । सुरक्षालाई ध्यानमा राखी छत्तीसगढका ७० प्रतिशत मतदान केन्द्रलाई संवेदनशील घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबारको चुनावमा केन्द्रीय राजधानी दिल्लीका सबै सात सिटको चुनावलाई महत्वपूर्ण रुपमा हेरिएको छ । दिल्लीमा मुख्य प्रतिस्पर्धा कांग्रेस र भारतीय जनता पार्टी बीच हुने देखिएको छ । सन् २००९ मा भएको चुनावमा कुल ९१ सिट मध्ये कांग्रेसले ४५ सिटमा जित हासिल गरेको थियो । तर यो पल्ट भाजपाको स्थिति बलियो रहेको चुनावी सर्वेक्षणले देखाएका छन् ।
बिहारमा मतदान शुरु हुनु अघि बारुदी सुरुङ विष्फोट हुँदा दुई जना सुरक्षाकर्मीको ज्यान गएको छ । अरु सात जना घाइते भएका छन् । बिहारको जमुई संसदीय क्षेत्रमा चुनावी सुरक्षाका लागि जाँदै गरेको सुरक्षाकर्मी चढेको गाडी हवेली खडगपुर क्षेत्रमा पुग्दा नक्सलबादीले थापेको एम्बुसमा परेको थियो ।
यसैबीच मतदातालाई प्रोत्साहित गर्न चिकित्सकहरुका विभिन्न संगठनले मतदान गरेको प्रमाण देखाउनेलाई उपचारमा २५ देखि ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

प्रतिक्रियाहरु