भारतको कारण नेपालमा वायु प्रदूषण !

२०७६ जेष्ठ २३ गते, बिहीबार

काठमाडौं, २३ जेठ । भारतबाट आउने प्रदूषित कणका कारण नेपालमा वायु प्रदूषणमा वृद्धि भएको अध्ययनले देखाएको छ । भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौंका संख्यामा रहेका इटाभट्टी र पन्जाब तथा राजस्थानमा अन्नबाली भिœयाएपछि जलाइने डाँठ–खोस्टाको धुवाँका कारण नेपालको वायु प्रदूषण वृद्धि हुने गरेको अध्ययनले देखाएको हो ।
त्रिभुवन विश्वविद्यालय वातावरण विभागकी प्राध्यापक रेजिना मास्केका अनुसार सीमा क्षेत्रका सहरसँगै काठमाडौंसम्म नै भारतको प्रदूषित कणले प्रभाव पारेको छ । प्रदूषित वायुले हिमालसम्म नै असर पार्ने गरेको उनले दाबी गरिन् । ‘हिउँद र सुख्खा याममा नेपालगन्ज, लुम्बिनी र सौराहामा काठमाडौंमा भन्दा बढी प्रदूषण देखिन्छ,’ उनले भनिन्, ‘यसको असर हिमालमा समेत प्रत्यक्ष पर्ने गरेको हाम्रो अध्ययनले देखाएको छ ।’ प्राध्यापक मास्केले तराईमा रहेका कलकारखानासँगै सीमापारबाट आउने प्रदूषित कणले नेपालमा वायु प्रदूषण हुने गरेकाले त्यसतर्फ द्विपक्षीय छलफल गरी समाधान गर्नुपर्ने सुझाव दिएकी छन् । पुसदेखि असारसम्म प्रदूषणको मात्रा अत्यधिक हुने गरेको उनको भनाइ छ ।
नेपालको वायुको गुणस्तरको राष्ट्रिय मापदण्ड पीएम २।५ छ । रौंभन्दा झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्दछ । सरकारले वायुको गुणस्तर मापन गर्न काठमाडौंको रत्नपार्कमा राखेको यन्त्रमा वर्षमा केही दिन प्रदूषणको स्तर १३६ माइक्रोग्रामसम्म पुगेको पाइएको छ । हिउँदमा दिल्लीमा हुने प्रदूषणको असर पश्चिमी वायुसँगै नेपालसम्म आइपुग्ने गरेको विज्ञहरू औंल्याउँछन् । ‘हलुका हुने भएकाले मसिना कण धेरै समयसम्म हावामा रहन सक्छन् र हावासँगै टाढासम्म पुग्न सक्छन्,’ मास्के भन्छिन्, ‘साना कणमा रासायनिक पदार्थसमेत रहिरहन सक्ने र ती नसासम्मै पुग्न सक्ने भएकाले स्वास्थ्यका लागि सबैभन्दा बढी हानिकारक हुने गर्दछन् ।’ नेपालमा सुरक्षित मानिएको मापदण्डभन्दा हावाको गुणस्तर कुनै दिनमा चार गुणाभन्दा बढी खस्किएको अध्ययनले देखाएको छ । यसको प्रत्यक्ष असर श्वासप्रश्वास र छालासँग सम्बन्धित रोगमार्फत देख्न थालिएको चिकित्सकहरूको भनाइ छ । -सविन शर्मा, राजधानी दैनिक

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार