भारतको एउटै जेलमा ३४ नेपाली !

२०७४ माघ २ गते, मंगलवार

काठमाडौं, २ माघ । भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दुताबासले पहल सुरु गरेको छ । दूतावासले भारतीय जेलका नेपालीहरूको प्रारम्भिक तथ्याङ्क सङ्कलन थालेको कार्यवाहक राजदूत भरत कुमार रेग्मीले जानकारी दिए । दूतावासले एक महिना अघि भारतका केही संस्थासँग मिलेर तथ्याङ्क सङ्कलन गरेको थियो । ‘भारतमा विभिन्न आरोपमा सजाय पाएर जेलजीवन बिताउन बाध्य भएका नेपालीहरूको उद्धारका लागि पहिलो चरणमा तथ्याङ्क सङ्कलन सुरु गरेका छौँ’ रेग्मीले भने, ‘तीन चार महिनाभित्र यो कार्य सकिने अनुमान छ ।’ त्यसपछि उनीहरूको उद्धारका लागि भारतको केन्द्र र राज्य सरकारसँग पहल गरिने उनले बताए । दूतावासका अनुसार भारतको एउटै जेलमा ३४ जना नेपाली बन्दी अवस्थामा भेटिएका छन् । हिमाञ्ल प्रदेशको नाहान जेलमा १४ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका एक नेपालीको उद्धारमा पुग्दा यस्तो तथ्य बाहिरिएको हो । हिमाञ्चलको एउटै जेलमा ३४ जना नेपालीहरू बन्दी जीवन बिताउन बाध्य रहेको दूतावासले जनाएको छ ।
त्यसपछि भारतीय जेलबाट नेपालीको उद्धारका लागि अध्ययन थालिएको रेग्मीले जानकारी दिए । दूतावासका अनुसार पछिल्लो चार वर्षमा भारतका जेलबाट ७३ जना नेपालीको उद्धार गरिएको छ । जसमध्ये ४८ जनाको त हिमाञ्चल प्रदेशका जेलहरुबाट उद्धार गरिएको हो । कामको खोजीमा हिमाञ्चल, उत्तराखण्ड लगायत राज्यमा आएका नेपाली विभिन्न अपराधमा लामो समयदेखि स्थानीय जेलमा बन्दी भएका छन् । अधिकांश नेपाली स्थानीय प्रहरीको झुटो आरोपको सजाय पनि भोग्न बाध्य भएका छन् । तीमध्ये कतिपयका आफन्त र केही संस्थाहरूको प्रयासपछि रिहा भएर नेपाल फर्किएका हुन् । तर उद्दार नभएका अझै कति नेपाली जेलजीवन बिताउन बाध्य छन् भन्ने यकिन तथ्याङ्क कसैसँग थिएन। यस्तो अवस्थामा भारतीय जेलका नेपालीको खोजी दूतातावासले थालेको हो ।
५० वर्षभन्दा लामो समयदेखि भारतमा नेपाली दूतावास सञ्चालित छ । तर पनि यहाँका नेपालीको तथ्याङ्क कोहीसँग छैन । तथ्यांक सङ्कलनमा ढिलाइ हुँदा धेरै नेपालीको अवस्था अत्तोपत्तो पनि छैन । -अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु