भात फाल्ने छोरीसँग – बलराम तिमल्सिना

२०७५ असार २८ गते, बिहीबार

प्यारी छोरी !
भात फाल्नुअघि
सुन एउटा कुरा भन्छु
भात फाले पनि त्यसपछि फाल्नू !

यो पृथ्वीमा बस्छन सात अरव मानिस
झण्डै एक अरव मानिस भोकै सुत्छन
कम्तिमा दश करोड मानिसहरू
अरुले फालेको भात खाएर वाँच्छन्
भोकै सुत्ने एक अरवमा
कम्तिमा छन् पच्चिस करोड बच्चाहरू
जो दैनिक भात भन्दै भन्दै रुन्छन
र दैनिक रुँदै भोकै निदाउँछन
ती पच्चिस करोड बच्चाहरू
कहिलै भात फाल्दैनन्
तिनीहरूसँग फाल्ने भात हुँदैन
कम्तिमा पाँच करोड बच्चाहरू
दैनिक अरुले फालेको भात टिप्न
कुकुरसँग झगडा गर्छन्
कैले कुकुरले जित्छ बच्चा भोकै हुन्छन
कैले बच्चाले जित्छन् कुकुर भोकै बस्छ !

प्यारी छोरी सुन ,
यो पृथ्वीमा कस्तो छ
दैनिक पच्चिस करोड कुकुरहरू
मासु भात खान्छन
स्याम्पुले नुहाउँछन
र गलैंचामा सुत्छन
त्यतिनै मानिसहरू
फालेको भात खान्छन
आँसुले नुहाउँछन
र सडकमा सुत्छन्
मनिसहरूको जीवन
कुकुरको भन्दा तल छ छोरी !

एकातिर भोकमरीले मान्छे मर्छन
अर्कातिर समुद्रमा चामल फालिन्छ
एक पैसा भाऊ घट्दैन भोकमरीमा
एक दाना अन्न वाँडिन्न भोकमरीमा
एक पैसा सस्तो बेच्नु भन्दा
बरु समुद्रमा फालिन्छ चामल
यो भात फाल्ने चलन नि छोरी
तिनै चामल फाल्नेबाट आएको हो
के तिमी चामल फाल्नेकी छोरी हौ त ?

प्यारी छोरी !
सरी भन्नु पनि पर्दैन
कान समाउँनु झन पर्दैन
एती सानी मान्छेलाई
त्यत्रो ठूलो जरिवाना गर्नै हुन्न
बरु एता सुन
यो कुरा सवै साथीलाई भन
र आजदेखि भात फाल्दिन भन
भात फाल्नेहरू नट्टी गर्लहरू हुन
मेरी छोरी नट्टी गर्ल हैन नि है
भोलिबाट भात नफाल्ने
मेरी छोरी गुड गर्ल हुने !

प्रतिक्रियाहरु