भरतपुर क्यान्सर अस्पतालमा ८० श्यैया थपिदै

२०७४ भाद्र ३० गते, शुक्रबार

काठमाण्डौ , ३० भदौ । बिरामीको चाप अत्यधिक बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० श्यैया थप गरिने भएको छ । विसं २०५७ मा क्यान्सर उपचारमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना भएको यस अस्पतालमा हाल १९४ श्यैया सन्चालनमा रहेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार अस्पतालमा भर्ना गर्नुपर्ने आधा बिरामी श्यैयाको अभावमा फर्कनुपरेको छ । सुरुमा चीन सरकारको सहयोगमा अस्पताल स्थापना भएको हो । हाल श्यैया थपका लागि नेपाल सरकारको रु ६० करोडको लागतमा आधुनिक अस्पताल भवन बन्दैछ । सोही भवनमा थप २०० श्यैया अस्पताल सन्चालन गर्ने लक्ष्य राखिएको छ । सो भवनको निर्माण सम्पन्न भएको भागमा यही असोज १० गतेदेखि थप ८० श्यैया सन्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक आचार्यले बताए । सोही दिन अस्पतालको १८ औं वार्षिकोत्सव पर्दछ भने १३ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस पनि पर्दछ । यही अवसरमा पहिलो चरणको श्यैया थप गरिन लागेको हो । सरकारले भवन निर्माण गरिदिएको भए पनि जनशक्ति भने आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न लागिएको आचार्यले बताए ।
यस अस्पतालमा वर्षेनी उपचारका लागि आउने बिरामीको संख्या बढ्दो छ । सन् २०१६ मा एकलाख २१ हजार १३५ जनाले अस्पतालबाट बहिरंग सेवा लिएका थिए, जसमध्ये चार हजार ७७५ क्यान्सरका बिरामी रहेको अस्पतालले जनाएको छ ।
सन् २०१५ मा चार हजार ५८१ क्यान्सरकासहित एकलाख १३ हजार ७९९ र सन् २०१४ मा चार हजार ४०१ क्यान्सरकासहित एक लाख १२ हजार ४७६ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।
सन् २०१६ को तथ्यांकअनुसार नयाँ थपिएका क्यान्सरका बिरामीमा सबैभन्दा बढी पाठेघरका ६०५, दोस्रोमा फोक्सोका ५९२ र तेस्रोमा स्तनका ४६८ जना रहेका छन् । अस्पतालले एक वर्षपछि मात्र तथ्यांक संकलन गरी अन्तिम रुप दिने भएकाले सन २०१६ को तथ्यांक हाल सार्वजनिक गरिएको हो । यो अस्पतालमा नेपालका ७५ जिल्ला र भारतबाट पनि उपचारका लागि आउने गर्दछन् ।
सन् २०१६ को तथ्यांकअनुसार सबैभन्दा कम रसुवाका एकजनाले उपचार सेवा लिएका छन् भने सबैभन्दा बढी चितवनका चार हजार ६६१ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यस वर्ष भारतबाट आएका ५४८ जनाले उपचार सेवा लिएका थिए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु