भद्रकाली मन्दिर पुनःनिर्माण गरिँदै

२०७४ श्रावण १२ गते, बिहीबार

काठमाडौं, १२ साउन । पोखराको प्रसिद्ध भद्रकाली मन्दिर १५० वर्षपछि पुनःनिर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण क्षतिग्रस्त मन्दिर श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिको सक्रियतामा पुनःनिर्माण गर्न लागिएको हो ।
समितिका सचिव योगेन्द्रमान श्रेष्ठका अनुसार प्राविधिक जाँचका क्रममा भूकम्पले मन्दिरको जगैदेखि क्षति पु-याएको पाइएको छ ।
“जगैदेखि भत्काएर पुनःनिर्माण गर्नुपर्ने भएकाले यसका लागि रु तीन करोड लाग्ने पूर्व अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो – “पूर्ववत् स्वरुपमा निर्माणका लागि पुरातत्व विभागबाट अनुमति प्राप्त भइसकेका कारण पुनःनिर्माणका लागि मन्दिरको नक्सा तयार गर्न लागेका छौँ ।”
आगामी दशैँअगावै मन्दिरको नक्सा तयार गरिने र त्यसपछि छ÷सात महिना अर्थव्यवस्थापन गरी निर्माण कार्यलाई अघि बढाइने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।
प्राचीन स्वरुप नबिग्रने किसिमले सिमेन्ट र छडको प्रयोगबिना बज्र प्रयोग गरी मन्दिरको निर्माण गरिने उहाँको भनाइ छ ।
भद्रकाली मन्दिरलाई प्राचीनकालदेखि पोखरा र यस आसपासका क्षेत्रमा मनोकांक्षा पूरा हने तीर्थस्थलका रुपमा लिइन्छ ।
रमणीय जंगलको बीचमा उच्च स्थानमा अवस्थित यो मन्दिरमा पुग्न फेदीबाट दुईवटा बाटो रहेकामा पूर्वी भागबाट २९२ वटा सिँढी उक्लनुपर्छ भने दक्षिण भागबाट २६५ सिँढी उक्लनुपर्छ । दैनिक भक्तजन आइरहने यो मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष र चैत शुक्ल पक्षका साथै बालाचतुर्दशीमा विशेष मेला लाग्छ । – रासस

प्रतिक्रियाहरु