भड्खालोमा संविधानसभा

२०७१ कार्तिक २२ गते, शनिबार


काठमाडौँ । आगामी माघ ८ गते संविधान जारी गर्ने नारा घन्काएर संविधानसभामा पुगेका दलहरुलाई अहिले यो नारा काउसो सावित भएको छ । संविधानसभालाई तीन दलको पैतालामा राख्ने काँग्रेस, एमाले र एमाओवादीको खेलले अन्ततः संविधानसभा नै भड्खालोमा पुगेको छ । तीन दलको दलीय स्वार्थ नमिल्दा संविधान निर्माणको विषयमा सहमति कायम हुन सकेको छैन । संविधानसभा अहिले तीन दलले गरेको सहमतिलाई वैधानिकता दिने थलो मात्र बन्न पुगेको छ । सभासद्हरुको काम तीन दलले विभिन्न गोप्य स्थान र रिसोर्टमा बसेर गरेको सहमतिलाई अनुमोदन गर्नेमा मात्र सीमित हुन पुगेको छ । एकातिर काँग्रेस, एमाले र एमाओवादीबीच संघीयता, शासकीयस्वरुप, निर्वाचन प्रणालीलगायतका विषयमा मतैक्यता हुन नसक्दा संविधानसभा नै धराशयी हुने स्थिति छ भने अर्कोतिर नेकपा-माओवादीसहितका ३३ दलले वर्तमान संविधानसभा विघटन गर्नुपर्ने र यो संविधानसभाबाट बनेको संविधान नमान्ने उद्घोष पहिले नै गरिसकेका छन् । यो संविधानसभा तत्काल विघटन गर्नुपर्ने र आमराजनीतिक दलहरुबीच सहमति गरी वर्तमान संकटको निकास खोज्नुपर्ने भन्दै संविधानसभा बाहिर रहेका दलहरु आन्दोलनको तयारीमा जुटिरहेका छन् । यस कारण पनि यो संविधानसभा माथि खतरा आइपुगेको विश्लेषकहरुको धारणा छ ।
उता नेकपा-माओवादीले त वर्तमान संकटको निकासको लागि आन्दोलनको आँधीबेहरी नै ल्याउने तयारी गरेको स्रोतले बताएको छ । खासगरी, नेकपा-माओवादीभित्रको बलियो तथा क्रान्तिकारी शक्ति सचिव नेत्रविक्रम चन्दको नेतृत्वमा गोलबद्ध हुँदै आन्दोलनको तयारीमा रहेको बुझिएको छ । माओवादी सचिव चन्दलगायतका अधिकांश नेताहरु अब देशमा संक्रमणकाललाई टुङ्गयाउन आन्दोलनको विकल्प नभएको भन्दै त्यसको तयारीमा होमिएको संकेतहरु सडकमा समेत देखिन थालिसकेको छ । नेकपा-माओवादीले साँच्चै प्रतिबद्ध भएर आन्दोलन थाल्यो भने जनताको ओइरो लाग्ने राजनीतिक विश्लेषकहरुको दाबी छ ।
तीन दलले संविधानका नाममा पटक-पटक जनतालाई झुक्याई आफ्नो स्वार्थसिद्ध गर्ने खेलमा लागेका छन् । दस वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्दै गएका छन् । संविधानसभामा भएका दलहरुको कार्यशैली हेदा पुनः २०४७ सालको संविधान ब्युँताउने छाँट देखिन्छ । यस्तो अवस्थामा नेकपा-माओवादीले निर्णायक आन्दोलन छेड्यो भने त्यो पक्कै निकासको कारक बन्न सक्छ भन्ने राजनीतिक विश्लेषकहरुको ठोकुवा छ ।

प्रतिक्रियाहरु