भट्टलाई बिनासर्त तत्काल रिहा नगरे कडा प्रतिरोध !

२०७६ माघ २७ गते, सोमबार

काठमाडाैं, २७ माघ । नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोकी इन्चार्ज आस्थाले ब्युरो सदस्य कपिल भट्ट उपचारका लागि आफन्तको घरमा बसिरहेको समयमा अपहरण शैलीमा पुनः गिरफ्तार गरिएकोमा भत्र्सना गर्दै बिनासर्त तत्काल रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएकी छिन् । सोमबार प्रेस विज्ञप्ति गर्दै इन्चार्ज आस्थाले भनेकी छिन्, ‘राष्ट्रघाती, दलाल सामाजिक फासिवादी सरकारले आफ्नो असफलता र सङ्कटलाई ढाकछोप गर्न विगतका निरङ्कुश दमनलाईसमेत बिर्साउने गरी हाम्रो पार्टीमाथि प्रतिबन्ध, दमन गिरफ्तारी र हत्यासम्मको फासिवादी हर्कत निरन्तर जारी राखेको छ । हाम्रो पार्टी भने देश र जनताप्रति पूर्ण जिम्मेवारीका साथ शान्तिपूर्ण राजनीतिक अभियानमा सक्रिय छ । तर पूर्ण रूपमा सङ्कटग्रस्त कथित कम्युनिस्टको सरकारले अग्रगामी, देशभक्त र क्रान्तिकारीहरूलाई निषेध गरेर आफ्नो लुटतन्त्र जोगाउने दुष्प्रयास गरिरहेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राष्ट्रिय स्वाधीनताको अवस्था अझ डरलाग्दो बन्दै गएको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत कैयौँ राष्ट्रघाती सम्झौताले देशको अस्मिता सङ्कटमा छ । यतिबेला एमसीसीको बहस पेचिलो बनेको छ । दलाल शासकहरू एमसीसी पारित गराउने दौडधुपमा छन् । हाम्रो पार्टी आमनेपाली जनतासहित एमसीसीको खारेजीमा छ । जनतन्त्र र जनजीविकाका समस्याहरू झन्झन् भयाभह बन्दैछन् । सबैखाले जनविरोधी तथा राष्ट्रघाती कदमविरुद्ध हाम्रो पार्टी दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिमा छ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘दलाल सरकारले हाम्रो पार्टीलाई निरन्तर दमन गर्दै आएको सन्दर्भमा यही २०७६ माघ २४ गते हाम्रो पार्टी गण्डक ब्युरो सदस्य कमरेड कपिल भट्टलाई पुनः गिरफ्तार गरेको छ । उपचारका सिलसिलामा चितवनको भरतपुरमा आफन्तको घरमा रहेको बेला बिनाकारण गैरन्यायिक ढङ्गले उहाँलाई प्रहरीले गिरफ्तार गरेको छ । गत वैशाखमा गिरफ्तार भई सर्वोच्च अदालतबाट असोजमा रिहा हुनुभएका कमरेड कपिल भट्टलाई अपहरण शैलीमा गरिएको गिरफ्तारीप्रति हाम्रो पार्टी घोर निन्दा र भत्र्सना गर्दै तुरुन्त रिहा गर्न आग्रह गर्दछ । अन्यथा त्यसको कडा जबाफ दिन हाम्रो पार्टी बाध्य हुनेछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु