भट्टराई र यादव एउटै कित्तामा

२०७३ मंसिर १३ गते, सोमबार

काठमाडौं, १३ मंसिर । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपन्द्र यादव राष्ट्रिय समस्याहरुको ठोस समाधान हुनेगरी संविधान संशोधन हुनुपर्ने भन्दै एउटै कित्तामा उभिएका छन । केही समयअघिदेखि दुवै पार्टीबीच एकीकरण हुने चर्चा चलिरहेका बेला आज संयुक्त विज्ञप्ति आउनुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ । उनीहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महत्वपूर्ण राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन नै नहुने गरी हुने संविधान संशोधनले मुलुकमा समस्या समाधान हुन नसक्ने र संविधानको स्विकारोक्ति र कार्यान्वयन पनि हुन नसक्ने बताएका छन् । उनीहरुले विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको विभिन्न आन्दोलनको परिणामस्वरुप हुन गइरहेको संविधान संशोधनको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनु पर्दछ । सो का लागि मधेशी, थारु, आदिवासी जनजाति, खस, मुश्लिम, शिल्पी (दलित), उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदाय तथा पिछडिएका क्षेत्र लगायतका समस्याहरुलाई सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, पहिचानमा आधारित गठबन्धन, संयुक्त प्रादेशिक मोर्चाहरु समेत सम्मिलित सङ्घीय गठबन्धनले उठाएका राष्ट्रिय मुद्दाहरु खासगरी– राष्ट्रिय पहिचानको मान्यता, अधिकारसहितको सङ्घीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद्, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, राज्यका सबै अङ्गमा समानुपातिक समावेशीकरण, बहुभाषिक नीति, स्वायत्तता तथा स्वशासन, सङ्घीय न्यायपालिका, प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह तथा विशेष संरचनाहरु रहने व्यवस्था, सामाजिक न्याय र समानताको अधिकार आदि सबैखाले विभेदको अन्त्य हुने गरी नेपालको संविधानलाई संशोधनद्वारा सच्याउनु पर्दछ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु