भक्ति थापालाई विभूति घोषणा गर्न माग

२०७२ बैशाख ५ गते, शनिबार

काठमाडौं, ५ बैशाख । वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले थापालाई राष्ट्रिय विभूति घोषित गर्नुपर्ने माग गरेको छ । देउथल युद्ध र वीर भक्ति थापाको २००औँ स्मृति दिवसको अवसरमा केन्द्रद्वारा शुक्रबार आयोजित कार्यक्रममा सहभागीले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएका वीर भक्ति थापालाई राज्यले समेट्न नसकेको भन्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने धारणा राखेका थिए ।जुम्लाको एकीकरणपछि हाल गढवालसम्मको समस्त पश्चिमको एकीकरणमा पनि थापा सहभागी थिए । त्यतिबेला उनको सदरमुकाम हालको भारतको अलमोडामा भएतापनि चेपे–मस्र्याङदीदेखि गढवालसम्मकै समस्त क्षेत्रमा सैनिक परिचालन,प्रशासन र परराष्ट्र सम्बन्धमा समेत सम्पूर्ण निर्णय लिने जिम्मेवारी उनले सम्हालेका थिए ।
सन् १८१५ अप्रिल १६ का दिन ७४ वर्षीय थापाले देउथलमा अंग्रेजसँगको युद्धमा वीरगति प्राप्त गरेका थिए । करिब ४ सयको सङ्ख्यामा रहेको नेपाली सेनाले तीन हजार ५ सयभन्दा बढी सेना रहेको अंग्रेजसँग वीरतापूर्वक युद्ध लडेका थिए ।आफू सो युद्धबाट बाँचेर फर्कन नसक्ने थाह पाइसकेका थापाले आफ्ना टुहुरा नातिलाई बडाकाजी अमरसिंह थापाको जिम्मा लगाएर युद्धमा गएका थिए ।
कार्यक्रममा अर्थमन्त्री रामशरण महतले राज्यले थापाजस्ता वीर व्यक्तित्वको उचित सम्मान गर्न नसकेको स्वीकार गर्दै उनीहरुको उचित सम्मानका लागि राज्य तयार रहेको र यसका लागि इतिहासको सही विश्लेषण हुन आवश्यक रहेको बताए ।
इतिहासविद् दिनेशराज पन्तले दुई हजार वर्ष पहिले नेपालको सिमाना अहिलेको जत्रै रहेको बताउँदै पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानमा थापाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।कार्यक्रममा प्रा डा धनबहादुर कुँवर,इन्दिरा जोशी,अनुसन्धानकर्ता डा प्रेमसिंह बस्नेतलगायतले भक्ति थापालगायत वीरको योगदानले नै नेपाल भनी गर्व गर्न पाएका भन्दै नेतालाई धर्म,जातका नाममा मुलुकलाई टुक्राउनेतर्फ नलाग्न सुझाव दिएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु