भक्तपुरमा शिव पार्वती विवाह महोत्सव

२०७२ बैशाख ६ गते, आईतवार

काठमाडौ, ६ वैशाख । भक्तपुरमा शिव पार्वतीको विवाह भएको अक्षय तृतियाका दिन भव्य रुपमा शिव पार्वती विवाह महोत्सव हुने भएको छ । केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आउँदो मंगलबार अक्षय तृतियाका दिन भव्य रुपमा जन्ती सहितको शिव पार्वती विवाह महोत्सव गर्ने भएको हो । महोत्सवमा डोलेश्वर मन्दिरबाट बाजागाजा सहित जन्ती लिएर भक्तपुर नगरपालिकाको तौमढीमा भव्य विवाह महोत्सव गरिने भएको समितिका उपाध्यक्ष किरण थापाले जानकारी दिए ।
डोलेश्वरबाट दुलाहा सहितको जन्ती लिएर आउने र तौमढीमा दुलही पक्षले तयार पारेको दुलहीसँग विवाह गराएर भव्य रुपमा शिव पार्वती विवाह महोत्सव मनाइने बताए । विवाह महोत्सवका लागि जन्ती पक्षको समितिले र दुलही पक्ष भक्तपुर नगरपालिकाका समाजसेवी अनन्त धौभडेलको समूहले व्यवस्थापन गर्ने छन् ।
डोलेश्वरबाट शिव प्रतिकका रुपमा दुलाहा बनाएर ल्याउने र भक्तपुरबाट शक्ति स्वरुपा तलेजु भवानीको प्रतिकका रुपमा पार्वती बनाएर दुलहीको रुपमा लैजाने व्यवस्था गरिएको छ । जन्ती दुलही लिएर डोलेश्वर मन्दिरमै पुगेपछि विवाह महोत्सव सम्पन्न हुनेछ ।
महोत्सवमा जन्तीको रुपमा झण्डै ५०० जना सहभागि हुने अनुमान गरिएको बताउँदै समितिका उपाध्यक्ष थापाले जन्तीका रुपमा जानेलाई डोलेश्वर मै भोजका रुपमा सातु, सर्वत र फलफूल खुवाउने व्यवस्था मानव धर्म सेवा समितिले गर्ने बताए ।
नगर र गाउँको सम्बन्ध सुमधुर पार्ने तथा धार्मिक महत्वलाई अझै बढाबा दिनका लागि भक्तपुर मै पहिलो पटक यसप्रकारको महोत्सव गर्न लागिएको हो । त्यसैगरी अक्षय तृतियाका दिन दर्शनार्थीका लागि डोलेश्वर महादेव मन्दिरको चार वटै ढोका खुल्ला गरेर पुजा तथा दर्शन गर्ने व्यबस्था मिलाईएको छ ।
समितिका उपाध्यक्ष थापाका अनुसार अक्षय तृतियाका दिन विहान चारबजेदेखि मन्दिरको चारवटै ढोका खुल्ला गरि मन्दिर भित्रै प्रवेश गरेर दर्शनार्थी आफैले पुजा एवं दर्शन गर्न पाउने व्यबस्था मिलाईएको बताए ।
उपाध्यक्ष थापाका अनुसार गएकाे वर्ष अक्षय तृतियाका दिन ३५ हजार दर्शनार्थी आएकोमा यसवर्ष ५० हजार दर्शनार्थी आउने अनुमान गरिएको छ । दर्शनार्थीलाई छिटो र सहज रुपमा दर्शन गर्ने व्यबस्था मिलाउन सुरक्षाकर्मी र स्वयंसेवक दस्ता खटाईने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार