ब्रिटेन–नेपाल चेम्बरमा राजन कँडेल

२०७१ कार्तिक १२ गते, बुधबार

काठमाडौं। बेलायतमा नेपाल सम्बन्धित व्यवसायीहरुको सबैभन्दा पुरानो संस्था ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजन कँडेल नियुक्त भएका छन् । गएको २२ अक्टोबरमा अध्यक्षमा नियुक्त भएलगत्तै कँडेलले ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका माध्यमबाट नेपालमा आफूले बेलायतमार्फत् हुने अनुदान भन्दा पनि व्यापार र उद्यमशीलतालाई जोड दिने बताएका छन् ।
अध्यक्ष कँडेलले बेलायत उद्यम गरिरहेका नेपालीहरुको सहयोगका लागि पनि आफ्नो कार्यकालमा काम गर्ने योजना सार्वजनिक गरेका छन् । नेपाली डायस्पोरालाई नेपालमा लगानी गर्नका लागि चेम्बरका तर्फबाट प्रेरित गर्ने, बेलायतमा उद्यम गरिरहेका नेपाली उद्यमीहरुलाई पनि संस्थाका तर्फबाट आफूहरुले सक्दो सहयोगका लागि पहल गर्ने, बेलायतमा रहेका नेपाली उद्यमी र उद्यमलाई अझ बढी प्रेरित गर्नका लागि वार्षिक रुपमा अवार्ड कार्यक्रम गर्ने आफ्नो कार्यक्रम रहेको बताए । यस्तो अवार्डले बेलायतमा रहेका नेपालीले बेलायतमा चलाइरहेको उद्यम र नेपालमा बेलायतीहरुले चलाइरहेको उद्यमलाई प्रेरित गर्नु मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
यसैगरी, ब्रिटेन–नेपाल चेम्बरका अध्यक्षको हैसियतले आफूले बेलायतस्थित नेपाली दूतावास तथा नेपालस्थित बेलायती दूतावाससँग नजिक रही काम गर्ने पनि बताएका छन् । नेपालले बेलायती लगानीको सुरक्षाका लागि बेलायत सरकारसँग गरेको बिप्पा सम्झौताका बारेमा प्रचार गर्नु आफ्नो प्रमुख कार्य भएको पनि उनले जनाएका छन् ।
यसैबीच, ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिमा नयाँ नेपाली व्यवसायी, प्रोफेसनल र उद्यमीहरुलाई ल्याइएको छ । तीमध्ये इन्द्र गिरी कोषाध्यक्ष रहेका छन् भने विराज भट्ट र प्रशान्त कुँवर कार्यकारी सदस्य रहेका छन् ।

प्रतिक्रियाहरु