बौद्धका सम्पदाको सुरक्षा गर्न माग

२०७३ बैशाख १७ गते, शुक्रबार

काठमाडौँ, १७ वैशाख । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण चीजबीजको सुरक्षा व्यवस्था मिलाउन स्थानीयवासीले माग गरेका छन् ।
बौद्ध क्षेत्रबाट तीन महिनाअघि हराएको बौद्ध अजिमाथानको ३०० वर्ष पुरानो गरुडको मूर्ति, टुँडाल र चाँदीको दियो फेला नपरेपछि आज स्थानीयवासीले यस क्षेत्रबाट निर्वाचित सांसद रामेश्वर फुयाँलको नेतृत्वमा गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै बौद्ध क्षेत्रका सम्पदा सुरक्षाको माग गरेका हुन् ।
“चोरी हुनुभन्दा १५ दिनअघि बौद्ध क्षेत्रमा जडान भएको सिसिटिभी फुटाइएको पाइयो, चोरी भएको तीन महिना हुँदा पनि दोषी नभेटिएको, सम्बन्धित निकाय गुठी संस्थान, पुरातत्व विभाग, महानगरीय प्रहरी वृत्त बौद्ध र भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा जानकारी गराउँदा पनि दोषी फेला नपरेपछि गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हौँ”– सांसद फुयाँलले भन्नुभयो ।
गृहमन्त्री बस्नेतले सम्पदा चोरीको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको जानकारी पनि सांसद फुयाँलले दिनुभयो । सम्पदा क्षेत्रलाई सुरक्षित गर्न विशेष सुरक्षा व्यवस्था मिलाइने आश्वासन पनि मन्त्री बस्नेतले दिनुभयो ।
काठमाडौँ महानगरपालिका–६ का पूर्व वडाध्यक्ष नेपालजीत लामा, स्थानीयवासी खड्गजीत लामा, जयमङ्गल लामा, देवकुमार लामा, चन्द्रमान लामा, वसन्त लामा, विष्णु लामा र लक्ष्मी श्रेष्ठलगायतले विश्व सम्पदा क्षेत्रमा सुरक्षित ऐतिहासिक सामग्री चोरी निकासी भए यसको महत्व नै हराउनसक्ने भएकाले सम्पदा क्षेत्रको कडा सुरक्षा गर्न र छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको थियो । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार