बोको हरामको नियन्त्रणमा रहेका ५३ जनाको उद्धार

२०७५ जेष्ठ ४ गते, शुक्रबार

काठमाडौं, ४ जेठ । नाइजेरियामा बोको हरामद्वारा अपहरित ५३ जनालाई अपहरणमुक्त गराइएको छ । उत्तरपूर्वी बोर्नो राज्यबाट सरकारी सेनाको टोलीले उनीहरुलाई अपहरणमुक्त गराएको अधिकारीहरुले जनाएका हुन् । अपहरणमुक्त हुनेमा ३३ महिला, १६ बालबालिका र चार जना पुरुष रहेको सेनाले जनाएको हो ।
बोको हरामविरुद्ध भएको सुरक्षा कारबाही अभियानका क्रममा सरकारी सेनाले उनीहरुलाई अपहरणमुक्त गराएको हो । नाइजेरिया सरकारले मे महिनामामात्रै बोको हरामको नियन्त्रणमा रहेका एक हजार जनालाई मुक्त गराएको छ ।
यसैबीच, नाइजेरियाली सेनाले गरेको सुरक्षा कारबाहीमा बोको हरामका १५ लडाकु मारिएका छन् । नाइजेरियाको उत्तर पूर्वी राज्य बोर्नो र दक्षिणी राज्य लेक चाड बासिन क्षेत्रमा उनीहरु मारिएका हुन् । सन् २००९ मा थालिएको बोको हरामको हिंसात्मक गतिविधिका कारण नाइजेरियामा अहिलेसम्म २० हजार मानिस मारिएका छन् भने २३ लाख विस्थापित भएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु