बैद्यद्वारा कालापानी अतिक्रमणको विरोधमा उत्रन अपिल

२०७६ कार्तिक २० गते, बुधबार

काठमाण्डौं, २० कार्तिक । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वक्तव्य जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी–लिपुलेक क्षेत्र गाभिएको विषयलाई नेपाली भूभागमाथि गरिएको नाङ्गो विस्तारवादी हस्तक्षेपको संज्ञा दिंदै त्यसको सशक्त विरोधमा उत्रन जनसमुदायलाई आव्हान गरेका छन । वैद्यद्वारा जारी
वक्तव्यमा भनिएको छ, “भारत सरकारद्वारा हालै सार्वजनिक गरिएको नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभिएको छ । यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण हो । यसबारे सम्पूर्ण देशभक्त नेपाली जनसमुदाय विशेष संवेदनशील र गंभीर बन्न जरुरी छ । हाम्रो पार्टी भारतीय विस्तारवादद्वारा यसरी नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमणको तीव्र विरोध तथा भत्र्सना गर्दछ । साथै, यसबारे आलटाल नगरी आवश्यक सत्यतथ्य प्रकाशमा ल्याई भारतको यस कदमको कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दह्रोसंग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग गर्दछ । अन्तमा, हाम्रो पार्टी यस प्रकारको भारतीय विस्तारवादी अतिक्रमण तथा हस्तक्षेपको सशक्त विरोध गर्न सम्पूर्ण देशभक्त नेपाली जनसमुदायसित हार्दिक अनुरोध गर्दछ ।”
यसैबीच , नेपालको कालापानी क्षेत्र भारत सरकारले आफ्नो नक्सामा गाभेको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आज ३ बजे काठमाडौंको शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने भएको छ । विरोध प्रदर्शनलाई मोर्चाका महासचिव परि थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रियाहरु