बैदेशिक रोजगारीमा ठगहरुको राइदाइ

२०७१ फाल्गुन १६ गते, शनिबार

काठमाडौँ । वैदेशिक रोजगारीको नाममा चालु आर्थिक वर्षको सात महिनामा मात्रै ४४ करोड ५७ लाख रुपैयाँभन्दा बढीको ठगीका उजुरी परेका छन् । ठगीका उजुरीको तुलनामा फछ्र्योट हुनेक्रम भने न्यून छ । उजुरीमा छानबिन गरी पीडितलाई न्याय दिलाउने काम पनि सुस्त छ । पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ठगीका ११ सय ८७ वटा उजुरी परेका छन् । यो उजुरी संख्या उच्च हो । वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम असुलेर फरार हुने, रकम असुले पनि विदेश नपठाउने, राहदानी नियन्त्रणमा लिएर राख्नेलगायतका अवैध काम गर्नेका विरुद्ध उजुरी परेको हो ।
यसैगरी, कामअनुसार तलब नदिने, एउटा काममा भनेर अर्कैमा पठाउने म्यानपावर कम्पनी तथा व्यक्तिका विरुद्ध पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिने गर्छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम असुलेर फरार हुने, रकम असुले पनि विदेश नपठाउने, राहदानी नियन्त्रणमा लिएर राख्नेलगायतका अवैध काम गर्नेका विरुद्ध उजुरी परेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा कुल ४४ करोड ५७ लाख ११ हजार आठ सय ५२ रुपैयाँको ठगीको उजुरी परेको हो । विभागका अनुसार ठगीका घटना र दाबी रकम महिनैपिच्छे बढ्दोक्रममा छ । विभागमा उजुरी परेको तुलनामा अदालतमा मुद्दा दायर गर्ने प्रवृत्ति भने न्यून छ । सात महिनामा कुल ११ सय ८७ वटा ठगीका उजुरी परेकामा यस अवधिमा अदालतमा भने जम्मा ९० वटा मुद्दा मात्र दर्ता भएका छन् । यस अवधिमा अदालतमा जम्मा १२ करोड ३७ लाख ८० हजार नौ सय ७१ रुपैयाँ बराबरको मात्र बिगो दाबी गरिएको छ । ठगी उजुरीका आधारमा अदालतमा बिगो दाबी गरिएको रकम ज्यादै कम हो।ठगीको उजुरी परेपछि सुरुमा विभागले पीडित र पीडक दुवै पक्षलाई झिकाएर मिलापत्र गराउन पहल गर्छ । दुई पक्षबीच आपसी सहमति हुन नसकेका विषय मात्र अदालतसम्म पुग्ने गर्छन् । अदालतमा लगिने अधिकांश मुद्दा व्यक्तिगत ठगीका हुने गरेका छन् । म्यानपावर कम्पनीले गर्ने ठगीलाई संस्थागत र व्यक्तिले गर्ने ठगी व्यक्तिगतमा पर्छन् ।
वैदेशिक रोजगारीका नाममा दलालले नेपाली युवालाई सरकारी अनुमति नलिई भारतीय मार्ग हुँदै तेस्रो मुलुकमा लैजाने गर्छन् । विदेश लैजाने नाममा रकम लिएर फरार हुने, विदेशमा लगेर अलपत्र पार्ने प्रवृत्ति बढ्दोक्रममा छ । हाल सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ३५ लाख नाघिसकेको छ । दैनिक औसतमा १५ सय जना युवा कामको खोजीमा विदेसिने गर्छन् । विदेसिनेमध्ये अधिकांशको गन्तव्य मलेसिया र खाडी मुलुकतर्फ छ । सरकारी अनुमति नलिई अवैध तरिकाले वैदेशिक रोजगारीमा जानेको संख्या पनि २० लाख हाराहारीमा रहेको अनुमान छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु