बैंगलोरमा नेपथ्यको प्रस्तुति

२०७१ चैत्र ९ गते, सोमबार

काठमाडौँ । परदेश पुगेर पढिरहेका विद्यार्थीमाझ लोक रक ब्याण्ड नेपथ्य आइतबार प्रस्तुत भएको छ । स्थानीय आर आर इन्स्टिच्यूटको मैदानमा जम्मा भएका तीन हजारभन्दा बढी दर्शकलाई टोलीले नेपालीपनको माया बाँडेको थियो । सन् २००२ देखि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत नेपथ्यले विशेषगरि विद्यार्थी र पठन–पाठन क्षेत्रमा आफूलाई केन्द्रित गर्दै आएको छ । त्यसै क्रममा २५ हजारभन्दा बढी नेपालीभाषी विद्यार्थीले अध्ययन गर्दै आएको यस कर्णाटक भूमिमा उसले आफ्ना नयाँ पुराना सिर्जना प्रस्तुत गरेको हो । कार्यक्रममा आफ्ना साथीहरु माझ रमाउदै गरेका ईलाम निवासी सुनिलले उत्साहित हुँदै भने, ‘धेरै बर्ष अगाडि स्कुले छात्र हुँदा आफ्नो गाउँ फिक्कलमा नेपथ्यको कन्सर्ट हेरेको थिएँ आझ आएर कलेज पढ्दा बैंगलोरमा फेरि हर्ने मौका मिल्यो ।’ कार्यक्रममा टोलीले श्रोताहरुलाई सार्वजनिक हुनै लागेको नयाँ गीतसमेत पस्केको थियो–
‘हो रामा रामा, हो रामा रामा
हाइ माया हाँसी दिँदा, देब्रे गालामा डिम्पल बसने … ’
गत महिना मात्र चितवनको नारायणगढमा आयोजित कन्सर्टमा नेपाल भित्रका श्रोताहरुको निम्ति यो पहिलोपटक सार्वजनिक भएको थियो । त्यसपछि लगत्तैको कार्यक्रम यति पर आएर अध्ययनरत् विद्यार्थीमाझ गर्न पाउँदा खुशी लागेको गायक अमृत गुरुङले बताए ।
‘तपाईहरु आफ्नो गाउँ शहरबाट यति टाढा पढ्नको लागि आउनु भएको छ जे कामको लागि आउनु भएको हो त्यो उदेश्य पुरा होस् मेरो शुभकामना ।’ गायक गुरुङले भने, ‘आफु जहाँ वसेपनि त्यहाँको समाज, रिति रिवाज, धर्म सवैलाई आदर गरेर मिलेर बस्नुहोला ।’
कार्यक्रममा ‘रेशम’, ‘तालको पानी’, ‘भेँडाको ऊनजस्तो’, ‘उडायो रेलैले’, ‘जोमसोमे बजारमा’, ‘छेक्यो छेक्यो’, ‘यो जिन्दगानी’ र ‘लामपाते सुरती’ लगायतका गीतहरुमा दर्शक नाचेका देखिन्थे ।
‘बैंगलोरमा पहिलेपनि केहि नेपाली कार्यक्रमहरु भएका थिए त्यसबेला प्राय बिद्यार्थी मात्रै भेला हुन्थे । यसपटक भने यहाँ कामको सिलसिलामा बसोवास गर्दै आएका नेपाली भाषीहरु समेत कार्यक्रम प्रति आकर्षित भएको हामिले अनुभब गर्यौ । ,’ स्थानीय आयोजक टोलीका अशिम गिरीले भने, ‘हालसम्म बैंगलोरमा आयोजित नेपाली कार्यक्रमहरुमा सबैभन्दा सफल कार्यक्रम यहि नै हो ।’
नेपथ्यमा टोलीका मुख्य गायक अमृत गुरुङलाई किबोर्डमा सुरज, ड्रमसेटमा ध्रुव, बेस गितारमा सुविन, लिड गितारमा निरज र मादलमा शान्तिले सघाएका थिए ।

प्रतिक्रियाहरु