बेल्जियममा उच्च सुरक्षा सतर्कता

२०७२ मंसिर ७ गते, सोमबार

काठमाडौं, ७ मंसिर । बेल्जियममा पेरिसमा जस्तै आक्रमण हुने भन्दै सरकारले उच्च सुरक्षा सतर्कतासहित आक्रमणकारीको खोजीका लागि विद्यालयसहित मुख्य व्यापारिक केन्द्र बन्द गराएको छ। बेल्जियमको संघीय प्रोसिक्युटरका अनुसार ब्रसेल्समा प्रहरीको व्यापक खोजी अभियानका क्रममा १६ जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार २२ स्थानमा छापा मारेर उनीहरुलाई पक्राउ गरिए पनि कुनै विष्फोटक पदार्थ र हतियार भने फेला परेको छैन ।
साथै पक्राउ गरिएकाहरुमा पेरिस आक्रमणमा संलग्न भनिएका संदिग्ध आक्रमणकारी सालाह अब्देसलाम फेला परेका छैनन् ।
यता सालाहका भाइ मोहम्मद अब्देसलामले आइतबार बेल्जियमको एउटा टेलिभिजनसँग कुरा गर्दै सुरक्षाबल सामु आत्मसमर्पण गर्न आफ्ना दाइसँग अपिल गरेका छन् । मोहम्मदका अर्का भाइ ब्राहिम अब्देसलाम पनि पेरिस आक्रमणमा संलग्न थिए । उनले स्वयमलाई आत्मघाती बेल्ट विष्फोट गराउँदा मारिएका थिए । पेरिस आक्रमणमा १३० जना मारिएका थिए ।
यसैबीच बेल्जियमका प्रधानमन्त्रीका अनुसार ब्रसेल्समा सोमबार पनि उच्च सुरक्षा सतर्कता कायमै रहनेछ । विद्यालय, कलेजलगायतका क्षेत्र पनि बन्द रहनेछ । आइतबार अबेर राति राष्ट्रिय सुरक्षा समितिको बैठकले उच्च सुरक्षा सतर्कता कायमै राख्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री चार्ल्स मिशेलले भने–सोमबार पनि विद्यालय, विश्वविद्यालय र मेट्रो सेवा बन्द रहनेछ । यो निर्णय सरकारको तर्फबाट सुरक्षा स्थितिको समीक्षापछि गरिएको हो । हिजो पनि ब्रसेल्स सहर पूर्णरुपमा बन्द रहेको र प्रहरीले पेरिस आक्रमणमा संलग्न आक्रमणकारीको खोजी गरेको थियो । गृहमन्त्री जान जामबोनका अनुसार वर्तमान खतराको स्थिति र अब्देसलालाई पक्राउ गर्न ब्रसेल्सको सडकमा ठुलो संख्यामा सैनिक परिचालन गरिएको छ। – एजेन्सी

प्रतिक्रियाहरु