बेलायतमा सत्तारुढ कन्जरभेटिभलाई बहुमत

२०७६ मंसिर २७ गते, शुक्रबार

काठमाडौं, २७ मंसिर । बेलायतमा भएको संसदीय निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टीले बहुमत पाएको छ । विपक्षी लेबर पार्टीको अवस्था भने अघिल्लो निर्वाचनभन्दा निकै कमजोर रहेको छ । संसदमा बहुमत पाएलगत्तै प्रधानमन्त्री बोरिस जोन्सनले ब्रिटेनलाई यूरोपीय संघबाट अलग गर्ने ब्रेक्जिट सम्झौताको लागु गर्न र मुलुकलाई एकजुट राख्न जनादेश मिलेको प्रतिक्रिया दिएका छन् । पूरै सिटको परिणाम सार्वजनिक नहुँदै कन्जरभेटिभले सरकार बनाउनका लागि आवश्यक पर्ने ३२६ सिट जितिसकेको छ भने लेबरले आफ्नो परम्परागत क्षेत्रहरु नै गुमाएको बीबीसीले जनाएको छ । कन्जरभेटिभले ३६५ सिट जित्नसक्ने जनाइएको छ । त्यही लेबर २०० सिटमा सीमित हुने देखिएको छ । लेबर नेता जेरेमी कोर्बिनले परिणाम ‘लेबर पार्टीका लागि निकै निराशाजनक रात’ रहेको प्रतिक्रिया दिएका छन् । पराजयसँगै उनले पार्टी नेतृत्व छोड्ने संकेत पनि गरेका छन् । लेबरले करिब ६० सिट गुमाउँदै गर्दा कन्जरभेटिभले अघिल्लो निर्वाचनभन्दा करिब ५० सिट बढाउने आंकलन छ । पाँच वर्षभन्दा कम अवधिमै ब्रिटेनमा तेस्रो निर्वाचन गराइएको हो । डिसेम्बर महिनामा निर्वाचन गराइएको त यो एक सय वर्ष यताकै इतिहासमा पहिलो भएको पनि जनाइएको छ । आउँदो जनवरी ३१ सम्ममा ब्रिटेनले ब्रेक्जिटबारेको निर्णय लिइसक्न ईयूले ब्रिटेनलाई समय सीमा दिइसकेको छ । सन् २०१६ मा गरिएको जनमत संग्रहमा ५२ प्रतिशतले यूरोपेली संघबाट अलग हुने तथा ४८ प्रतिशतले नहुने पक्षमा मतदान गरेका थिए ।

प्रतिक्रियाहरु