बेनि मोर्चा, हेलिकप्टर र भैंसी आहाल – धनिराम सिम्खडा

२०७४ कार्तिक १९ गते, आईतवार

सुन्दर भविष्यको सुनौलो सपना बोकि काधमा राईफल पिठ्युँमा झोला , कम्मरमा सकेट बम र पुलेट पर्स अनि तुम्लेटमा पानी बोकेर युद्धमोर्चामा दुश्मनसग लुकामारी खेल्दै कहिले बेसि त कहिले हिमाल पहाड कहिले हिउँ कहिले जाडो त कहिले गर्मी नभनी देशका सबै ठाँउमा दौडधुप गरि नथाक्ने युद्धमोर्चाका छापामार देशको कुनै ठाँउमा सामेल हुदैछन । सामेल हुनु योजनाको समग्र जानकारी लिनु युद्धमा चाहिने प्रविधिक सामाग्री बोक्नु अनि कमिलाको ताती झै रफ्तारमा अघि बढ्नु , ताती नछुटाउनु , ताती जिवन्त राख्नु छापामारको अनुशासनको प्रहिलो खुड्किला हो । सायद आज मलाई सपना जस्तो लाग्छ त्यसैले त भनिन्छ “इतिहास मीठो हुन्छ वर्तमान तितो हुन्छ ” । माओवादी आन्दोलन रणनैतिक सन्तुलनको सैनिक रणनीतिमा आईपुग्दा मोर्चाबद्ध लडाइँको अभ्यास जनमुक्ति सेनाले कैयौं ठाँउमा गरिसकेको छ । यसको उच्चतम केन्द्रीकृत आक्रमणको योजना म्याग्दी बेनि लाई लिन सकिन्छ ।
पश्चिम नेपालको अछामदेखि यात्रा सुरु भएको थियो । उकाली ओराली अनि भञ्ज्याङ चौतारी , कहिले पहाडको टुप्पोमा त कहिले खोलाको खोचतिर यात्रा निकै कठिन पनि रमाइलो पनि थियो । यात्रा कालिकोट,जुम्ला,जाजरकोट,रुकुम हुँदै रोल्पासम्म निरन्तर भयो । तर योजनाको जानकारी, प्रशिक्षण भेला स्याण्डमेडेल भिडियो कोचलगायत कुरा रुकुममा भयो । पश्चिम डिभिजन अन्तर्गतका बिग्रेडहरु मंगलसैन फस्ट बिग्रेड,घोराही सतबरिया सेकेन्ड बिग्रेड,लिस्नेगाम थर्ड बिग्रेड र बासु स्मृति फोर्थ बिग्रेड सहभागी थिए । रुकुमको लुकुम स्कुलमा हाम्रो थर्ड बिग्रेडको प्रशिक्षण भयो। उक्त प्रशिक्षणमा मोर्चाका कमिसन क. विप्लव र कमान्डर क. पासाङ ( हाल विप्लव एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर दलाल संसदीय व्यवस्थाविरुद्ध क्रान्तिमा संघर्षरत हुनुहुन्छ भने पासाङ दलाल संसदीय व्यवस्थाको उपराष्टपति हुनुहुन्छ )बाट योजनाको प्रशिक्षण सम्पन्न भयो । त्यही स्कुलमा बेलुकी बेनि कार्वाहीको बारे भिडियो कोचिङ हेर्ने काम भयो ।
सामन्ती राजतन्त्रले उत्पीडनमा पारेको मध्यपश्चिम अनि त्यहा चरम अन्याय, अत्याचार, विभेद ,छुवाछूत ,रोग, भोकमरी आदि कुराबाट राज्यले दमन गरिरहेको थियो । त्यही ठाँउमा अन्यायको विरुद्ध लड्न र आफ्नो अधिकार खोसेर लिन माओवादी जनयुद्धले मात्र सिकाएको थियो । जहाँ अन्याय हुन्छ त्यहाँ विरोध हुन्छ , जहाँ विरोध हुन्छ त्यहाँ दमन गरिन्छ, जहाँ दमन हुन्छ त्यहाँ जनताले प्रतिरोध गर्छन् । त्यही कुरालाई लिएर रुकुमेली जनता, रोल्पाली जनता, कालिकोटे जनताले जनयुद्ध र माओवादी आन्दोलनलाई माया गरिरहेका थिए !
हाम्रो फौज राडी आसबिसकोट हुँदै मग्मा ,बाफिकोट, पिपल, रुकुमकोट, काडा पुग्दा सबै ठाँउमा जनताको माया ममता पाएको थियो । जनताले यी सबै ठाँउमा लालिगुरासको फुलमाला अविर लिएर स्वागत गरेका थिए भने बाजागाजा बजाउदै मयुर नाच नाच्दै युद्ध मोर्चा जित्न साहस हौसला दिदै उच्च मनोबल बनाउन निर्देश गरिरहेका थिए । त्यो हेर्दा लाग्थ्यो विजयको सन्निकट आईरहेको छ । बरु सहिद भएर पनि युद्ध जित्नु पर्छ भन्ने कुरा हाम्रो मानसपटलमा छाईरहन्थ्यो ।
काडाबाट हाम्रा पाईला अघि बढ्दै ढोरपाटन बन्यजन्तु आरक्षमा पुग्दा जनता , पार्टी र सेनाका लस्करहरु देखिन्थे । रासन पानीको बन्दोबस्ती, घाइते हुदा बोक्ने डोको, स्ट्रेचर , हरियो बाँसहरु अनि लडाइँ लडन हतियारका पाटपुर्जा सफा गर्दै टृगर दबाउनमात्र बाकी अरु बुलेट पर्समा बुलेट गन्ती गर्दै कम्मरमा बाध्नेकाम हुँदै थियो । माईनहरु तयारी हालतमा रहिरहेको थिए भने जन स्वास्थ्यकर्मीहरु गजपिस बनाउदै फस्टेड्का सामाग्री तयार गरिरहेका थिए । त्यो दृश्य हेर्दा लाग्थ्यो कुनै उत्सव महोत्सव जस्तो । साल्लाको घना जंगलमा झ्याउहरुलाई बिछ्याउन बनाएर आगो ताप्दै देउडा खेल्दै बिहान हुन्छ । बिहान हाम्रो यात्रा अघि बढ्दै अलि पर पुगेर खाना खाने तयारी हुन्छ । खाना खाएर धौलागिरीको काख जलजला लेकमा विशाल लालयोद्धा हरुको परेड हुन्छ । परेडमा अगाडि कमान्डर क. जित , सुनिल, विविध ,प्रतीक्षा, योद्धा ,बहुविर अनि सबै बिग्रेडहरु आ- आफ्नो लाईनमा सामेल हुन्छन् । अनि कमान्डर कासन गर्छ । डिभिजन सर्तक …… गोडा फाट ……. दायाँ फर्क ……..बायाँ फर्क ……. पूरा फर्क……. न चल …… अगाडि हेर ….. आराम गर ….. कासन पछि कमिसार कमान्डरहरु फौजलाई अनुशासन गोपनियता र मार्चको विषयमा कुरा राख्दै निर्देशनात्मक भनाइ सकेर डिभिजन अगाडि बढ्छ ।
हामि जलजला लेकबाट करिब दुई घन्टाको ओरालो झरेर म्याग्दी मुना गाउँ आईपुग्छौ । त्यही हारबोर गरेर हाम्रो बिग्रेड बस्छ । करिब २/३ दिनको बसाई मुना गाउँमा बसेर युद्ध मोर्चाको अन्तिम तयारी पूरा हुन्छ अनि फेरि रातिको बाटो हिडेर म्याग्दी खोलाको किनारमा अवस्थिति दरवाङ बजारमा अन्तिम सेल्टर हुन्छ । बिहान चार बजे एउटा् स्कुलमा पुगेर करीब दुई घन्टा जति सुतियो । बिहानको खाना र बेलुकीको खाना दिनको करिब एक बजे खाएर रोलकालमा सामेल कमान्डरले सिठी फुक्छ हामी सबै लाईनमा आफ्नो झोला हतियार, माइन, स्ट्रेचर, डोको बोकेर बसेउ । अनि कमिसारले भन्नू भयो हामी आज दुश्मनको क्याम्पमा धावा बोल्दै छौ, हाम्रो बलिदान हुन सक्छ, हामी मध्यबाट घाइते हुनुपर्ने छ, आजसगै छौ भोलि हामी कोहि नहुन सक्छौ , यो युद्धको नियम हो , हामीले जसरी नि यो युद्ध जित्नु पर्छ ,भोलि बिहान बिजयको झणडा फहराउदै बाचेकाहरु जितेर फर्किनु पर्छ भन्नू भयो । अनि हाम्रो यात्रा अघि बढ्दै गयो । सडकमा चार बिग्रेडका चार लाइन, दिनको एक बजेबाट दौडिरहेका हाम्रो रातीको ११ बजे फस्ट फायर खोल्ने योजना थियो । म्याग्दीमा रहेको कालिप्रसाद गणलाई निशाना बनाउदै दुईवटा ८१ एम एम अर्थुङे डाडाबाट र म्याग्दी खोला परिको डाडाबाट १४४ सेल बम ब्यारेकमा खसाल्ने ब्यारेकको १५ मिटर बाहिर एसाल्ट ग्रुप पोजिशनमा बस्ने भन्ने योजना मुताबिक काम भयो । हामी जाँदै गर्दाब्यारेकको पश्चिमी भागमा गएको गस्ती टोलि माथि आमनेसामने भिडन्त भयो । गस्तिमा गएका सबै कब्जामा परे कोहि मारिए ,कोहि घाइते भए भने हाम्रो टिमका कम्पनी कमान्डर क. शिशरको शाहदत्त भयो । शाही सेनाको मुख्य ब्यारेक लिस्नेगाम बिग्रेडलाई परेको थियो । अरु बिग्रेडहरु सिडिओ कार्यलय , डिएसपि कार्यलय , बैक, कारागार कब्जा गर्दै काली प्रसाद गणमा केन्द्रित भएर लडाइँ रातभरि चल्यो । भीषण आक्रमणमा भोलिपल्ट बिहानै देखि जारी रह्यो बचेकाहरुलाई सिध्याउने र ब्यारेकमा आगो लगाउने काम दिनको बाह्र बजेसम्म जारी रह्यो । पुरै म्याग्दी सदरमुकाम बेनि माओवादी सेनाको कब्जामा आयो । DSP रण बहादुर गौतम, CDO सागरमणी पराजुलीसहित ३७ जना युद्धबन्दि बनाएर विजयको नारा घन्काउदैदुश्मनका हतिया हरु LMG,SLR,इन्सास,राइफल ,म्याग्नम,सटगन १५० थान हतियार हजारौं गोलि जनसेनाले कब्जा गरेर बेनि बाट फर्कियो । हाम्रो तर्फ घाइते ४४४ जना भए भने जनमुक्ति सेनाको इतिहासमा उच्च बलिदान बिग्रेड सह कमान्डर क. योद्धा, क. बहुविर, बटालियन कमान्डर क. बिशाललगायत ९२ जना कमरेडहरुको उच्च शाहदत्त भयो ।
सयौं घाइते लिएर फर्किएपछि हेलिकप्टरले पिछा गर्यो । हामी जाने बाटो बाटोमा शाही सेना उतारेर रुट अबरोध गर्ने कोशिश गरेपनी त्यो काम लागेन । ढोरपाटन तकसेरामा ठुलो फोर्स तैनाथ गर्यो तर हामिले छक्याउदै झुक्याउदै भिडडै अघि बढी रह्यौ । बाग्लुङको ताराखोलामा ठुलो भिडन्त भयो । शाही सेना पनि कयौं मरे हाम्रो नि क्षति भयो , केहि हतियार गुमाउनु पर्यो् । त्यसपछि हेलिकप्टरको आतंक चरम गर्यो मिनि क्षेप्यास्त्र हान्ने काम गर्योय । त्यो बेला माओवादी सेनालाई सिध्याउन करिब छ वटा सानो ठुलो हेलिकप्टर प्रयोग गरेको थियो । कयौं दिन भोकै चिमालोको बुट्टा मुनि घाइते बिरामी राखेर दुश्मनको हेलिकप्टरबाट बचाउन सफल भयौ । दुश्मनको क्याम्प काडेतार ,बंकार, ट्रेन्ज कब्जा गरेपनि हेलिकप्टरलाई तह लगाउन नसकिएकै हो ।
घाइते बिरामी, हतियार, गोलि गठ्ठा, युद्ध सामाग्री बोकेर बेनिबाट दरवाङ हुँदै म्याग्दी खोला पारिको उकालो चढेर मुना गाउँ पुग्न करिब हप्ता दिन लाग्यो । खाने खाना छैन,पिउने पानी छैन ,गुराँस र चिमालोको झाडी अनि लेक लागेर गाह्रो भएको अवस्थामा चैत महिनामा माथी लेकतिर बर्खा भैंसी लिने रैछ्न । त्यही बर्खामा भैंसी आहाल बसेका साना ठुलो खाल्डोमा अलिकति पानी त्यो पनि भैसिको पिसाब जस्तै पहेलो र पानीमा स- सानो मसिनो रातो किरा हुँदा नि ज्यालिनको मुखमा कपडा राखेर छान्दै त्यो पानी क. विप्लव, क. पासाङलगायत हामी सबै कमरेडहरुले पिएका थियौ । आज देशको उपराष्टपति पासाङ महलमा आसिन हुनुहुन्छ भने कमरेड विप्लव गरिब जनताको झुपडीमा, हामी पनि त्यही गरिब झुपडीमा , अझै पनि जनताको सत्ता प्राप्त भएको छैन । त्यसैले अब एकीकृत जनक्रान्तिमा सहभागी हुँदै जनताको सत्ता बैज्ञानिक समाजवाद स्थापना गरौ दलाल संसदीय व्यवस्था खारेज गरौ ! सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न जनयुद्ध गरिएको थियो तर आज आएर क्रान्ति युद्ध बिसर्जन गरि कथित संसदीय व्यवस्थामा रमाउने दक्षिणपन्थी अवसरवाद आत्मसमर्पणवादीहरुको कारण जनयुद्ध , जनसेना, आधार ईलाका, जनसत्ता जनअदालत विघटन गर्दै सामन्तीहरुको कब्जा जग्गा फिर्ता गर्नु जनयुद्ध र सहिदहरु माथिको अपमान र अपराध हो । आज क्रान्तिको झन्डा उठाउदै जनयुद्धको निरन्तरता सहिदहरुको सपना साकार पार्न , घाइतेअपांगहरुको अधुरो लक्ष्य पूरा गर्दै कथित संसदीय व्यवस्था खारेजी गर्दै गरिब किसान श्रमजीवी मध्यम वर्गको राज्य व्यवस्था , शान्ति, समृद्धि, समानता , राष्ट्रिय स्वाधीनता र विकासका लागी बैज्ञानिक समाजवाद स्थापना एकीकृत जन क्रान्तिको माध्यमबाट मात्र सम्भंव छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु