बूढीगङ्गा नदीमा पुल निर्माण : तीन वर्षमा दुई पिल्लर

२०७६ पुष २७ गते, आईतवार

काठमाडाैं, २७ पुष । बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन छ । विसं २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न भैसक्नुपर्ने सम्झौता विसं २०७३ असार ३० भएको थियो । नौ करोड ८३ लाख ८२ हजार ५७९ रुपैयाँ लागतमा सम्झौता भएको थियो । काष्ठमाडौँ मसिना जेभीले निर्माणको जिम्मा पाएको थियो ।
सडक डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख राजेश दासले छिटो निर्माण सम्पन्न गर्न कम्पनीलाई पत्राचार गरिएको जानकारी दिए । कम्पनीका प्रमुख जयदेव पन्तले नदीमा पानीको बहाव बढ्न गई पुल निर्माणकार्य गर्न समस्या भएको बताए । उनले विसं २०७७ असारमा पुल निर्माणको काम सम्पन्न गर्ने जानकारी दिए । कामदारले काम गरेवापतको रकमसमेत नपाएको गुनासो गर्दै आएका छन् । बडिमालिका नगरपालिका–६ कोर्ध र जडागङ्गाका स्थानीयवासीले पुलमा काम गरेवापतको ४१ लाख नपाएको बूढीगङ्गा–६ का स्थानीयवासी पदम बडुवालले बताए । – रासस

प्रतिक्रियाहरु