बुधबारदेखि नयाँ नोट साट्न पाइने

२०७१ भाद्र २९ गते, आईतवार


काठमाडौ । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्ने सुविधा बुधबारदेखि सुरु गर्ने भएको छ। यसका लागि सबै जिल्लामा नोट पठाइसकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठले बुधबारदेखि नयाँ नोट साट्ने सुविधा उपलब्ध हुने बताए। ‘राष्ट्र बैंकले सबै जिल्लामा नयाँ नोट पठाइसकेको छ’, उनले भने, ‘मागअनुसार नोट पठाएका छौं।’
योपटक दसैंलाई भनेर राष्ट्र बैंकले २५ अर्ब नयाँ नोट र दसैंमा विभिन्न निकायमा फन्डमा चाहिने १५ अर्ब रुपैयाँ बजारमा पठाएको छ। यसमा २५ अर्ब रुपैयाँ पूर्ण रूपमा नयाँ नोट रहेको र १५ अर्ब रुपैयाँ नयाँ र पुरानो गरेर नोट हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले एक व्यक्तिले बढीमा २२ हजार रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेको छ। यसअनुसार पाँच रुपैयाँ, १० रुपैयाँ र २० रुपैयाँको नोट दुई बन्डल तथा ५० र सयको नोट एक बन्डल साट्न पाइनेछ। राष्ट्र बैंकले बनाउने एक बन्डलमा पाँच सयवटा नोट हुन्छन्।
यसअनुसार पाँच रुपैयाँको नोट एक हजार, १० रुपैयाँको नोट दुई हजार, २० रुपैयाँको चार हजार, ५० रुपैयाँको नोट पाँच हजार र सय रुपैयाँको नोट १० हजार रुपैयाँसम्म साट्न पाइनेछ।
नयाँ नोट राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथली, अन्य वाणिज्य तथा विकास बैंक र वित्तीय संस्थाबाट साट्न पाइनेछ। राष्ट्र बैंकले दुर्गम पहाडी र हिमाली जिल्लामा पनि नयाँ नोट पठाइसकेको छ।
अन्य समयको तुलनामा नयाँ नोटको माग दसैंको समयमा बढ्ने गरेको छ। दसैंमा लगाइने टीका तथा जमरासँगै नयाँ नोट दक्षिणाका रूपमा दिइने प्रचलन रहेको हुनाले पनि यो समयमा नयाँ नोटको माग उच्च हुन्छ। केन्द्रीय बैंकले नोट सुरक्षामा भने गम्भीर हुन सर्वसाधारणलाई आग्रह गरेको छ।
दसैंमा प्रयोग हुने नोटमा रङ लाग्ने भएको हुनाले नोटको आयु कम हुने गरेको छ। नोटमा रङ प्रयोग नगर्न तथा सुरक्षित तरिकाले नोट प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
नयाँ नोट राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथली, अन्य वाणिज्य तथा विकास बैंक र वित्तीय संस्थाबाट साट्न पाइनेछ। राष्ट्र बैंकले दुर्गम पहाडी र हिमाली जिल्लामा पनि नयाँ नोट पठाइसकेको जानकारी दिएको छ। सबै जिल्लामा बुधबारसम्म नोट पुग्ने राष्ट्र बैंकका प्रवक्ता श्रेष्ठले जानकारी दिए।
‘कुनै पनि जिल्लामा अभाव नहुने गरेर राष्ट्र बैंकले नोट साट्ने व्यवस्था गरेको छ’, उनले भने, ‘अभाव हुने देखिएमा तुरुन्तै पठाउन सकिन्छ। नयाँ नोट मौज्जात पर्याप्त छ।’ २०६६ सालमा नयाँ नोट आउन नसक्दा राष्ट्र बैंकले मागअनुसारको नोट आपूर्ति गर्न सकेको थिएन।
पाँच वर्षअगाडि भएको अभावका कारण सर्वसाधारणमा राष्ट्र बैंकले सहज आपूर्ति गर्नसक्छ या सक्तैन भन्नेमा आशंका रहने गरेको छ। सहज रूपमा नोट पाइने भएकाले यसमा सर्वसाधारण आत्तिनु नपर्ने प्रवक्ता श्रेष्ठले बताए।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु