बुद्धको जन्मस्थलका बारेमा रहेको भ्रम हटाउन पहल

२०७० चैत्र २७ गते, बिहीबार


काठमाडौँ । यूरोपेली मुलुक स्वीडेमा गौतम बुद्धको जन्मस्थलका बारेमा रहेको भ्रम हटाउन पहल शुरु भएको छ । स्वीडेनका पाठयपुस्तकमा बुद्ध नेपालको लुम्बिनीमा नभएर भारतमा जन्मिएका भ्रमपूर्ण तथ्य रहेका छन । लुम्बिनी कपिलवस्तु दिवस बिश्व अभियानका तर्फबाट ती भ्रम हटाउन बिहिवार ब्रुसेल्सस्थित नेपाली राजदुतावास मार्फत पहल शुरु गरिएको हो ।
अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्य, अभियानका बेल्जियम राष्ट्रिय संयोजक सन्तोष न्यौपाने तथा साहित्यकार तथा अभियानका बेल्जियम सदस्य बिमल गिरी सहितको ३ सदस्यीय प्रतिनिधिमण्डलले युरोपेली संघका लागि महामहिम राजदुत राममणि पोखरेल समक्ष गौतमबुद्धको जन्म नेपालमा नभएर भारतमा भएको भनिएका त्यस्ता पाठ्यपुस्तकहरुलाई सच्याउन तथा कोर्सबुकबाट हटाउन स्विडेन सरकारलाई अनुरोध गर्न चाहिने आवस्यक सबुद प्रमाणहरु प्रदान गर्दै आवश्यक कुटनीतिक प्रयासको लागि हार्दिक अनुरोध गरेको हो ।
स्टकहोम युनिभर्सिटिका सिनियर रिसर्चर डा. कटक मल्ल तथा अभियानका सदस्य शंकर गौतमको सहयोगमा अभियानको स्विडेन राष्ट्रिय समितिका संयोजक कृष्णकुमार ढकालमार्फत गलत जानकारी भएका दुई पुस्तकहरु अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यलाई प्राप्त भएपछि सो प्रयास गर्न लागिएको हो ।
राजदुत पोखरेलले अभियानको तर्फबाट प्रदान गरेको आवस्यक कागजात लिदै अभियानले लिएको राष्ट्रिय गौरवको उत्थान गर्ने जस्तो महान कार्यमा आफ्नो तर्फबाट कुटनीतिक प्रयासको लागि हार्दिकताका साथ अघि बढाउने बताउदै आफुलाई यो महान कार्यमा जोडिने अवसर प्राप्त भएकोमा एक प्रकारको खुशी लागेको बताए । राजदुत पोखरेलले नेपालको तर्फबाट स्विडेनका लागि जिम्मेवारी सम्हाल्दै आएका राजदुत मुक्तिनाथ भट्टसंग कुटनीतिक प्रयासका लागि टेलिफोन संवाद गरेका छन । राजदुत पोखरेलका अनुसार, राजदुत भट्टले उक्त विषयसंग सम्बन्धित कागजात प्राप्त हुनासाथ कुटनीतिक प्रक्रिया अघि बढाउने प्रतिबद्दता राजदुत पोखरेल समक्ष व्यक्त गरेका छन ।

प्रतिक्रियाहरु