बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै

२०७१ आश्विन १ गते, बुधबार


काठमाडौँ, १ असोज । सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व धुमधाम साथ मनाइँदैछ ।बुढी अर्थात राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवको रुपमा यो पर्व प्रत्येक असोज संक्रान्तिमा मनाइने गर्दछ । यसलाई बन्दुनी संक्रान्ति पनि भनिन्छ ।
परम्परागत किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उहाँका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन छ । द्वापर युगमा विषाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको र भगवान श्री कृष्ण बाँचेको खुसियालीमा यो पर्व मनाईने गरिएको स्थानिय बुढापाकाहरुको भनाई रहेको छ ।
आज साँझपख सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङ्गोमा बन्दुनी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ ।
त्यस्तै बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभरी देउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि रहेको छ ।

प्रतिक्रियाहरु