बिहे गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद !

२०७५ जेष्ठ १० गते, बिहीबार

काठमाण्डौ, १० जेठ । दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरेका छन् । ‘गल्फ न्यूज’ अखबारका अनुसार शरिया न्यायालयमा विवाह गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद भएको हो । बेहुलीका पिताले बेहुला पक्षसँग २० हजार पाउन्ड रकम माग गरेका थिए । प्रचलनअनुसार नै बेहुलीका पिताले रकम माग गरेको र बेहुलापक्षले पनि उक्त रकम दिने सहमति जनाएपछि विवाह भएको थियो । विवाहकै क्रममा बेहुलापक्षले ५० प्रतिशत रकम बुझाएको थियो । विवाह दर्ता भइसकेपछि बाँकी रकमका लागि बेहुलीका पिताले दबाब दिएको उक्त अखबारले जनाएको छ । बेहुलाले पाँच मिनेटको पैदल दुरीमा पार्क गरिएको आफ्नो कारमा रकम रहेको जनाउँदै बेहुलीका पितालाई ‘पार्किङ’ मै गएर बाँकी रकम तिर्ने बताएका थिए । तर, बेहुलीका पिताले कारमा राखेको रकम लिन अरु कसैलाई पठाउन दबाब दिदैं पुरा रकम नपाएसम्म आफूले छोरीलाई लैजान नदिने बताएपछि तनाव बढेको थियो ।
दुलाहा पक्षले बेहुलीका पिताको यस्तो दबाबलाई ‘आफ्नो अपमान’ महसुस गर्दै तत्काल सम्बन्धबिच्छेद गरेको बताइएको छ । समाचारमा बेहुला, बेहुली र उनीहरुको परिवारको परिचय खुलाइएको छैन । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु