बिस्केट जात्रा सुरु

२०७४ चैत्र २७ गते, मंगलवार

काठमाण्डौ , २७ चैत । भक्तपुरको बिस्केट जात्रा आजबाट शुरु हुँदै छ । चैत २७ गतेदेखि वैशाख ५ गते आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने विस्केट जात्रा बिहान भैरवनाथको नित्य पूजासँगै शुरु हुने प्रचलन छ । विस्केट जात्राको पहिलो दिन भक्तपुरको पाँचतले मन्दिर अगाडि राखिएको काठै–काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देउतालाई विराजमान गराई पूरा गरेर साँझ रथ तानेर जात्रा शुरु हुन्छ ।
जात्रामा टोल–टोलबीच प्रतिष्ठाका लागि रथलाई आ–आफ्नो पक्षमा राख्न होडबाजी चल्ने गर्दछ । वैशाख संक्रान्तिको अवसरमा मनाउने बिस्केट जात्रा आठ दिनसम्म चल्दछ । नेवार समुदायले मनाउने तीसभन्दा बढी जात्रा पर्वमध्ये वैशाख संक्रान्तिको उपलक्ष्यमा बिस्केट जात्रा मनाइन्छ । यो जात्रा विक्रम सम्वतको नयाँ वर्षलाई स्वागत गरी मनाइन्छ । भक्तपुरका विभिन्न पुराना नेवार बस्ती, काठमाडौंको टोखा र काभ्रे जिल्लाको खरपुमासमेत बिस्केट जात्रा मनाउने चलन छ । बिस्केट जात्रा र यसको नामांकरण सर्प मारेको किवदन्तीमा आधारित छ । विश्व यात्रा शब्द अपभ्रंश भएर बिस्का जात्रा हुँदै बिस्केट जात्रा भएको विश्वास गरिन्छ । ग्रह, नक्षत्र तथा राशीमा आधारित यो जात्रा, मीन राशीबाट मेश राशीमा प्रवेश गरेको समयान्तर अर्थात् चैत मसान्तदेखि शुरु भएर वैशाखको पहिलो हप्तासम्म मनाइन्छ ।
त्यसैगरी विस्केट जात्राकै अवसरमा मध्यपुर थिमीको लाय्कु, बालकुमारी, चपाचो, नगदेश र बोडेमा वैशाख २ गते ३२ खटसहितको अबिर जात्रा मनाइने गरिन्छ । मध्यपुर थिमी बोडेमा जिब्रो छेड्ने जात्रा भव्यताका साथ मनाउने प्रचलन छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार