बिडम्बना – नारायण शर्मा

२०७४ कार्तिक २० गते, सोमबार

बिडम्बना !
देस बदल्न हिंडेकाहरु
भेष बदल्न पो पुगे !
समाज सजाउन सिङ्गृएकाहरु
मसाज सेन्टर र ब्युटी पार्लर पुगे !
क्रान्तिको लागि लडेकाहरु
भ्रान्तिको खेती गर्न पो पुगे !
मुक्तिको लागि भिडेकाहरु
भुक्तिका लागि मर्न पो पुगे !
सत्यको निम्ति समर्पितहरु
सत्ताको निम्ति समाहित भए !
निष्ठाको निम्ति न्यौछावर गर्नेहरु
बिटा रूपी बिष्टामा पो बिक्री भए !
आस्था र आदर्शका निम्ति आहुती दिनेहरु
आशेपासे र गासे पो बन्न पुगे !
मूल्य र मान्यताको निम्ति मर्न समेत तम्सेकाहरु
मान र पदवीको निम्ति मोलमोलाइ पो गर्न पुगे !
न्यायको निम्ति निर्णायक लडाइँ लडेकाहरु
अन्यायका बिम्ब र प्रतीक पो बन्न पुगे !
समानताको निम्ति संघर्ष गरेकाहरु
असमानताका पर्याय पो बन्न पुगे !
सदाचारका निम्ति जुधेकाहरु
भ्रष्टाचारका भब्य नमुना बन्न पुगे !
जनवाद,समाजवाद र साम्यवादका यात्रीहरु
धनवाद, परिवारवाद र सर्वसत्तावादका सिकार भए !

प्रतिक्रियाहरु