‘बाह्रराशि दर्शन मकर मेला’ हुने

२०७३ मंसिर १९ गते, आईतवार

काठमाडौं, १९ मंसिर । कैलालीको प्रशिद्ध धार्मिकस्थल गोदावरी धाममा आगामी मकर सङ्क्रान्तिका अवसरमा ‘बाह्रराशि दर्शन मकर मेला’ आयोजना गर्ने तयारी गरिएको छ । धाम क्षेत्रमा शनिबार बसेको सर्वपक्षीय बैठकले माघ १ देखि १२ गतेसम्म बाह्रराशि दर्शन मकर मेला आयोजना गर्न आवश्यक तयारी गर्ने निर्णय गरिएको साहित्यकार एवम् समाजसेवी पदमराज जोशीले बताए ।
गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला गर्ने निर्णयसमेत उक्त बैठकले गरेको छ । प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भमेलाको योग पर्ने भएकाले प्रत्येक वर्ष कुम्भमेलाको प्रतीकका रुपमा १२ दिवसीय बाह्रराशि दर्शन मेलाको आयोजना गर्ने गरी तयारी गर्न लागिएको जोशीले बताए ।
यसका लागि गोदावरी धाममा बाह्रराशिको स्थापना गर्ने, प्रत्येक राशिका व्यक्तिलाई दर्शन एवम् पूजाको व्यवस्था मिलाउने, त्यहाँ स्थापना गरिएको कुम्भवाटिकामा बाह्रराशि र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवम् पूजाको व्यवस्था गर्ने तयारी गरिएको छ ।
बाह्रराशि दर्शन मकर मेलाको आयोजनाबाट गोदावरी धाममा प्रत्येक राशिका मानिसले आ–आफ्नो राशिअनुसार पूजा गर्न पाउने भएका छन् । यसका साथै लक्ष्यह्वन तथा श्रीमद् भागवत महापुराणको समेत आयोजना गरिनेछ । यस्तै बैठकले गोदावरी धामको बृहत् विकासका लागि गोदावरी धाम विकास समिति गठन गर्ने निर्णयसमेत गरेको छ । यो क्षेत्रमा गत वर्ष कुम्भ दर्शन मेला गरिएको थियो ।

प्रतिक्रियाहरु