बालिका बलत्कारका कहालीलाग्दा घटनाका साक्षी हुनुपर्दा – कौशिला रिसाल

२०७५ श्रावण १४ गते, सोमबार

बलत्कारपछि हत्या गरिएकी तेह्र वर्षिय किशोरी निर्मला पन्तको आज पाँच दिनमा परिवारले दाह संस्कार गरेका छन् । बलत्कारीलाई हदैसम्मको कार्वाही हुनुपर्ने मागको सम्बोधन हुने भएपछि उनका परिवारले विधिसम्मत अन्त्यष्टि गरेका हुन् । कानुनले किशोरीका आमा बाबुको न्याय गर्ला नगर्ला त्यो पछिको कुरा । तर कानुनमा लेखिएको नियममा रहेर न्यायलयले काम कार्वाही अगाडि बढाउने कि पीडकले पटक पटक याचना गरेर कार्बाही हुने ? सम्बन्धित निकायले यो बुझ्न जरुरी छ ; कानुनको सही पालना कानुनमा लेखिएबमोजिम नै हुनुपर्छ होइन र ? काभ्रेमा पनि ९ वर्षिय किशोरीको विभत्स शब भेटिएको छ । उनका शवको प्रकृति हेर्दा बलत्कार गरी हत्या गरेका पुष्टि हुन्छ ।
यी त दिनमा घटेका एकाध उदाहरण हुन् । कहिले छाउपडीमा बलत्कार, कहिले बारीमा बलत्कार, कहिले घरमै बलत्कार, कहिले होटलमा त कहिले सार्वजनिक यातायातमा बलत्कार । बालिका÷महिला सुरक्षित कहाँ हुन्छन ? घरमा, होटेलमा वा बसमा ? फेरि कहिले काकाबाट बलत्कार, कहिले मामाबाट, कहिले बाबुबाट कहिले कुनै आफन्तबाट त कहिले छिमेकीबाट । अनि कोसँग सुरक्षित हुन्छन् बालिका÷महिला ? काका, बाबु, मामा, दाजु, अन्य ? यी प्रश्नका उत्तर कहिले पूरा होलान् ? बलत्कारजस्तो जघन्य अपराध गरेर प्राण लिने नर पिपासुहरूलाई कसरी न्याय गर्न सकिन्छ ? यस्ता बलत्कारका घटनाका भिडियो या समाचार हेर्दा हामी जो सुकैको मन दुखेको हुन्छ । बलत्कारीप्रति घृणा जाग्छ र पनि कार्वाही भएको देखिदैन । जब हामीले यी प्रश्नका सकारात्मक उत्तर पाउँदैनौँ । अनि अपराधी खुलआमा हाम्रैसामु छात्ती फलाएर हिड्छ तबसम्म यस्ता घटनामा कसरी सुधार आउलान् ?
कानुनले के भन्छ ?
कानुनले बलत्कारीलाई ५ वर्षदेखि १५ वर्षसम्मको कैद सजाय हुने व्यवस्था गरेको छ । यस्तो व्यवस्था उमेर हेरेर निर्धारण गरिएको छ । १० – कम उमेरका बालिका बलत्कार गर्नेलाई १०–१५ वर्ष जेल सजायको व्यवस्था छ । १०–१३ वर्षका बालिका बलत्कार गर्नेलाई ८–१३ वर्ष कैद सजाय हुने भनिएको छ । त्यस्तै १४–१५ वर्षका बालिका बलत्कार गर्नेलाई १० वर्ष , १६–१९ वर्षका महिलालाई बलत्कार गर्नेलाई ८ वर्ष कैद र २० देखि माथिका महिलालाई बलत्कार गर्नेलाई ५–७ वर्ष कैदको सजाय तोकिएको छ । त्यस्तै लोग्नेले स्वास्नीलाई पनि बलत्कार गरेको ठहरेमा ३ देखि ६ महिना जेल सजाय हुने व्यवस्था नेपालको कानुनमा उल्लेख गरिएको छ ।

कहाँ चुक्छौँ हामी ?
न्यायलयको बाटो झन्झटिलो । सामाजिक दबाबको कारण आदिले गर्दा एक त उजिरी गर्ने ढिला हुन्छ भने अर्काे झन्झटिलो कानुनी प्रकृयाले पीडिले न्याय पाउन ढिला हुने हुन्छ । यसकारण वितृष्ण पैदा भई कानुनको बाटो पनि छोडिदिने गर्दछन् अनि पीडकलाई प्रोत्साहन हुन गई समाजमा यस्ता घटना दोहोरिने गर्दछन् । जनआन्दोलन पछिको अन्तरिम संविधान र अहिले नेपालको संविधान २०७४ सम्म आइपुग्दा न्याय प्रणालीमा खासै सुधार हुन सकेको छैन । करकाप, धम्की, प्रलोभनमा पारेर अपराधीलाई उम्काइने गरिन्छ ।
यसका लागि महिला पुरुषकै महत्वपूर्ण भूमिका हुने गर्दछ । बलत्कारीलाई कानुनी कठघरामा उभ्याएर कार्वाही नगरेसम्म पीडकले न्याय नपाउने हुँदा पीडितका पक्षमा डटेर सहयोग गर्नु पर्दछ । बल्ल बल्ल न्यायलयको ढोकासम्म पुगेका पीडितलाई पनि कानुनले विभिन्न बाधा उत्पन्न गरेर पीडकको पक्षमा वकालत गर्ने गरेको सम्म पाइन्छ । जस्तो कि सबुद प्रमाण नपुगेको वा यस्तै यस्तै । बलत्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने जुन कुरो उठिरहेको छ त्यो एक किसिमले जायज पनि हो तर सामाजिक बहिष्कार भने गर्नेपर्छ । अर्काे महत्वपूर्ण पक्ष यौन शिक्षाको कमी पनि हो त्यसैले यौनलाई सकारात्मक रूपमा हेर्ने र मनमा कुभावना आउन नदिन युवा तथा किशोरकिशोरीलाई यौन शिक्षा तथा यौन् परामर्शको आवश्यक छ ।
अब यसो गरौँ
बलात्कारका अधिकांश घटना घर परिवार र चिनेजानेका मानिसबाट हुने गरेको पाइन्छ । यसलाई हामीले मनन गर्नु जरुरी छ । गम्भीर रूपमा लिनु जरुरी छ । घर परिवारका सदस्यले यसमा ख्याल राख्नुपर्छ । बाबुमाथि नै शङ्खा छ अर्थात् ऊ मानसिक रूपमा ठीक छैन अथवा मादक पदार्थको सुेवन गर्छ भने आमा वा दिदीले आफ्नी छोरी बहिनीको जिम्मा कसलाई लगाउने विचार गर्नुपर्छ । यदि कसैले बलत्कारका लागि एक दुई पटक प्रयास गरिसककेको छ भने घटनालाई लुकाउनु हुन्न । प्रतिवाद गर्न र सार्वजनिक गर्न पछि हट्नु हुँदैन ।
परिवार बाहेकका अन्य व्यक्तिका हकमा डटेर प्रतिवादमा लाग्नुपर्छ । उजुरी गर्न आनाकानी गर्नुहुन्न । कुनै पनि धम्की र धनको पञ्जामा पर्नु हुँदैन । कानुनले तोके बमोजिमको हदै सम्ममको कार्वाहीको प्रकृयामा जतिसक्दो चाँडो लाग्नुपर्छ । हामीले आफ्न ैश्रीमान, दाजु, भाइ तथा भतिजो भनेर चुप लाग्ने गर्दा भोलि आफ्नै मान्छेबाटै हामी बलाकृत हुने अवस्था सृजना हुन के बेर ? यस्तो बेलामा कसले हामीलाई न्याय दिने ? यसलाई मनन गरी अब हामी महिला अगाडि बढ्ने बेला आएको छ । विगत एक वर्ष यता मात्र मुलुकभर घटेका बलत्कारका घटनाको अध्ययन गर्दा बलात्कार हुनेमा किशोरीहरूको संख्या सबैभन्दा बढी भएकाले प्रत्येक माध्यमिक तथा उच्च माध्यमिक विद्यालयमा सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । यसले किशोरीहरूलाई शंङ्का लागेमा अथवा यस्ता घटना घटने संभावना भएमा तत्काल आफ्नो सुरक्षाका निम्ति सजगता अपनाउँन सकून ।
देशभर महिला बलत्कारलाई निरुत्साहित गर्न प्रत्येक पुरुषको पनि सहयोग आवश्यक छ । कुनै पनि पुरुषले आफ्नो ठाउँमा बसेर यो सोच्नु पर्छ कि मेरी छोरी श्रीमती तथा बहिनी बलात्कृत हुँदा आफूलाई कस्तो पीडा होला ? तसर्थ प्रत्येक बलात्कृत महिलाका पीडा आफ्नै छोरी चेलीका पीडा हुन् भन्ने सम्झेर सामाजिक अन्याय तथा असंगतिप्रति पुरुषले पनि औंला ठड्याउँन सक्नुपर्छ तब मात्र नेपाली समाज बलात्कार जस्तो जघन्य अपराधबाट मुक्त हुन सक्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु