बालाचतुर्दशी पर्व मनाइँदै

२०७४ कार्तिक ३० गते, बिहीबार

काठमाडौँ, ३० कात्तिक । आज बालाचतुर्दशी, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्छन् । चतुर्दशीका दिन बिहान शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको बिहीबार बिहानैदेखि पशुपतिमा भीड लाग्छ ।
आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, उमाकुण्ड, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले धानका १०० बीउ छर्ने शास्त्री प्रमाण भएकाले शतबीज भनिएको बताए ।
“शतबीजको अर्थ सत्बीज अर्थात् राम्रो बीउ वा सप्तबीज भन्ने अर्थमा पनि लगाउन थालिएको छ, शास्त्रीयरुपमा यो सही होइन, यसै वर्ष दिवंगत भई वर्षान्त नभएकाले बत्ती बाल्ने शतबीज छर्नु पनि हुँदैन भन्ने शास्त्रीय प्रमाण छ”– उनले भने ।
शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पु-याउन अनुरोध गरिन्छ ।
भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु