बामदेवको अभिव्यक्ति हास्यास्पद : प्रकाण्ड

२०७२ भाद्र ६ गते, आईतवार

काठमाडौं, ६ भदौ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले दलहरुले गरेको सीमाङ्कनका विरुद्ध सुर्खेत, जुम्ला लगायत देशभर भइरहेका आन्दोलनमा नेकपा माओवादीको सम्लग्नता रहेको भन्नेबारे गृहमन्त्री बामदेव गौतमले दिएको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन ।प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ती जारी गर्दै गृहमन्त्रीको अभिव्यक्ति षड्यन्त्रपूर्ण र पूर्वाग्रही रहेको बताएका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘देशका गृहमन्त्रीले आफ्नो संसदको राज्यव्यवस्था समितिमा व्यक्त गरेको धारणा हास्यास्पद, मनगढन्ते, उत्तेजनात्मक, पूर्वाग्रही, षड्यन्त्रयन्त्रपूर्ण रणनीतिको अभिव्यक्ति र पूराका पूरा झुट भएको प्रष्ट पार्दछौं ।”
गृहमन्त्री गौतमले केही दिन अघि संसदको राज्यव्यवस्था समितिको बैठकमा देशभर भएका पछिल्ला घटनाक्रमबारे बोेल्दै ती घटनामा नेकपा माओवादीका तालिमप्राप्त गुरिल्लाहरुले गुलेली हानेको भावमा अभिव्यक्ति दिएका थिए । संविधानसभा भित्रका प्रमुख चार दलले ६ प्रदेशमा सहमति गरी देशको सीमाङ्कन गरेपछि देशभर उठेको आन्दोलनमा राज्यप्रशासनले व्यापक दमन गरेको थियो । सो क्रममा आधा दर्जन बढी मान्छेको ज्यान गइसकेको छ । सोही आन्दोलनका बारेमा सभासदहरुले उठाएउको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्रीको उक्त अभिव्यक्ति आएको छ ।
गृहमन्त्रीको सोही अभिव्यक्तिको खण्डन गर्दै माओवादी प्रवक्ता प्रकाण्डले यो अभिव्यक्तिले ‘देशको गृह प्रशासनको यो दयालाग्दो अवस्था देख्दा पार्टीलाई लज्जा महशुस भएको’ बताएका छन् । प्रवक्ता प्रकाण्डले जनताको आन्दोलनप्रति भने आफ्नो पार्टीको नैतिक समर्थन रहेको प्रष्ट पारेका छन् ।
माओवादीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ ययस प्रकार रहेको छ – ‘ हिजो राज्य व्यवस्था समितिको बैठकमा आफूलाई गृह मन्त्री ठान्ने बामदेव गौतमले हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई ‘देशको शान्ति सुरक्षा बिथोल्न छापामार युद्धमा भाग लिएका कार्यकर्ताबाट आक्रमण भएको’ भनि दिएको अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । देशका गृहमन्त्रीले आफ्नो संसदको राज्यव्यवस्था समितिमा व्यक्त गरेको धारणा हास्यास्पद, मनगढन्ते, उत्तेजनात्मक, पूर्वाग्रही, षड्यन्त्रयन्त्रपूर्ण रणनीतिको अभिव्यक्ति र पूराका पूरा झुट भएको प्रष्ट पार्दै पार्टी त्यसको जोडदार खण्डन र घोर भ्रत्र्सना गर्दछ । देशको गृह प्रशासनको यो दयालाग्दो अवस्था देख्दा पार्टीलाई लज्जा महशुस भएको छ ।
माओवादी पार्टीको नेतृत्वमा विगत १० वर्षको जनयुद्ध एवं १९ दिनको आन्दोलनमा नेपाली श्रमजीवी जनताले अगाडि सारेका राजनैतिक एजेण्डा र त्यसलाई देशको राज्यसत्ता र शासन व्यवस्थामा स्थापित गर्न ०६३ साल यताको संक्रमणकालीन राजनैतिक यात्राकोे ‘देशमा विद्यमान सामन्ती एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त गरी समाजमा रहेको वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक लगायतका सबै असमानता एवं विभेदको अन्त गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्ने र त्यसका निम्ति प्रतिस्पर्धात्मक वहुदलीय शासन प्रणाली स्थापना गर्ने भन्ने उद्देश्य थियो । सो आधारमा भएको माओवादी शक्ति र संसदवादी शक्ति बीचको बृहत शान्ति सम्झौताको उलङ्घन गर्ने, माओवादी शक्ति र संसदवादी शक्ति बीचको सहयात्रालाई तोड्ने र कथित दोश्रो संविधान सभा, १६ बुँदे सहमति, ८ प्रदेश, ६ प्रदेशको गाईजात्रे नाटक गरी जनताका परिवर्तनका एजेण्डा र अधिकार खोस्ने अनि त्यसका विरुद्ध स्वतःस्फूर्त रुपमा जनताले आन्दोलन गर्दा पाशविक हत्या र दमन गर्ने, जनताले त्यसको प्रतिवाद गर्दा हाम्रो पार्टीलाई दोषारोपण गर्ने यो त निरंकुशता र फासिवादको पराकाष्ठा हो । यस रबैया भित्र देशका दलालहरुले जनविरोधी संविधान जनता माथि लाद्ने, त्यसको आडमा देशको भूभाग दललाहरुका नाईके २÷४ जनाले बाँडेर खाने, त्यसलाई संघीयताको जलप लगाउने र जनताले त्यसको विरोध एवं आन्दोलन गर्दा अमुक पार्टीलाई आरोप लगाई जनताको कत्लेआम गर्ने नरसंहारकारी रणनीति अन्तरनीहित रहेको कुरा सजिलै बुझ्न सकिन्छ । उक्त षड्यन्त्रप्रति पूराका पूरा सचेत रहँदै जनविरोधी संविधान र प्रतिगमनको सामना गर्न आफूलाई सबै दृष्टिले तयारी अवस्थामा राख्न हाम्रो पार्टी आम परिवर्तनकामी नेपाली जनतामा अपिल गर्दछ ।
हाम्रो पार्टी यो देशका मुठ्ठीभर दलालहरुद्वारा अघि सारिएको जनविरोधी संविधानको मस्यौदा र जनताको स्वायत्त राज्य सहितको संघीयता प्राप्त गर्ने अधिकार कटौतीका विरुद्ध जनताले संचालन गरिराखिएकोे आन्दोलन र सरकारी दमनको प्रतिरोध संघर्षमा राजनैतिक एवं नैतिक समर्थन र साथ रहेको र रहने कुरालाई समेत आम जनसमुदायमा स्पष्ट गर्दछ । ‘

प्रतिक्रियाहरु