बादशाहको प्रेत वाणी – बलराम तिमल्सिना

२०७६ श्रावण २४ गते, शुक्रबार

नजर गरें, देखें
ठीक छ, ठीक छ
सब ठीकठाकै चलिरहेकै रहेछ !

कत्रो चिन्ता थियो हामीलाई
हाम्रो अनुपस्थितिमा
देश कसरी चल्ला ?
पूजा अर्चना कसरी होला ?
हाम्रो हिन्दू अधिराज्य
कस्तो पो बन्ला ?
हाम्रा बराजुले आर्जेको मुलुक
कति टुक्रा होला ?
त्यस्तो केही भएको रहेनछ
ठीक छ ठीक छ
सब ठीकठाकै चलिरहेको रहेछ !

दिव्य दश वर्षपछि
नजर गर्दा नागार्जुनबाट
देश उसै गरी चलिरहेको रहेछ
जसरी हाम्रा पालामा चल्थ्यो !

हाम्रो जसरी नै चल्दो रहेछ सवारी
हाम्रै जस्तो रैछ फूर्तीफार्ती
कम्युनिष्टको हातमा गयो देश भन्थे
क्या गजबका कम्युनिष्ट परेछन्
चन्द्रागिरि उपर चढेर
मेरै बराजुको वाणी दोहोर्याएछन्
धर्म, कर्म, पूजा, पाठ सब गर्दा रहेछन्
ठीक छ, ठीक छ
सब ठीकठाकै चलिरहेको रहेछ !

लुई सोह्रौंको इतिहास पढेको थिएँ
कस्तो डर लागिरहेको थियो
जारको अन्त्य पनि पढेको थिएँ
ज्यानमा काँडा उम्रिरहेको थियो
लेनिनकै चेला हौं भन्थे
श्री पशुपति नाथको कृपाले
नक्कली चेला परेछन्
भोज भतेरमा बोलाउँछन्
आदर सत्कार सबै गर्छन्
गाथको सुरक्षा,
पेटको व्यवस्था सब गरेकै छन्
भेट्दा झुकेर नमस्कार गरेकै छन्
क्या गजब भयो, अचम्म भयो
श्रीपेच फुकालेर पनि
खासै पिरलो छैन
ठीक छ, ठीक छ
सब ठीकठाकै चलिरहेको रहेछ !

एउटा कुरा चैं मनमा खेलिरहन्छ
सब कुरा हाम्रै जसरी गर्नु रहेछ
हामीलाई नै चैं किन हटाउँनु परेको होला ?

श्री पशुपति नाथले
हामी सबैको कल्याण गरून् !

प्रतिक्रियाहरु