प्रधानमन्त्री निवास अगाडिबाट २५ जना अधिकारकर्मी गिरफ्तार

२०७५ मंसिर २४ गते, सोमबार

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री निवास वालुवाटार अगाडिबाट प्रहरीले २५ जना मानव अधिकारकर्मीहरुलाई पक्राउ गरेकाे छ । ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसकाे अवसरमा अाज मानव अधिकार तथा शान्ति समाज नेपालले प्रधानमन्त्री निवास अघि विरोध प्रदर्शन गरेकाे थियाे । साेही क्रममा प्रहरीले २५ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको हाे । प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल लगायतलार्इ गिरफ्तार गरेकाे हाे ।
गिरफ्तार हुनेमा नम्रता पौडेल, ईश्वरा लिङदेन, रत्नलक्ष्मी श्रेष्ठ, रुपा गिरी, गीता तिमल्सिना, रेजीना राई, बटुकृष्ण ढुंगेल, नानिकाजी गिरी, रामचन्द्र खतिवडा, बलबहादुर गाहा मगर, सनत आचार्य, सुमित जि.सी, संजोग चाम्लिङ राई, विपी पौडेल, राजु अधिकारी, कृष्ण पंगेनी, नन्दकुरमार लावती, नारायण कुमार श्रेष्ठ, जगन्नाथ पुडासैनी, अमृतप्रसाद उपाध्यायसहित २५ जना रहेका छन् । उनीहरुलार्इ अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । २०७५ साउन १० गते कञ्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पश्चात हत्याको घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको अक्षमता ठहर गर्दै राज्यको अक्षमता र दण्डहीनताको कहालीलाग्दो सिलसिला विरुद्ध शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको हो ।
विरोध प्रदर्शनमा पिडितलाई न्याय पिडकलाई सजाय, महिलाहरु माथि हुने हिंसा र अत्याचार जघन्य अपराध हो, मानव अधिकार संरक्षण गर, महिलामाथि भइरहेको अत्याचार अन्त्य गर, दण्डहीनता अन्त्य गर, इन्ड इम्पुनिटीलगायतका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु