बाटोको कुरा – बलराम तिमल्सिना

२०७५ जेष्ठ ३ गते, बिहीबार

म वर्षौं हिडेको
हामी सवै वर्षौं हिडेको
हाम्रो वलिदान मार्ग
जसको फेरिएको नाम थियो –
आदर्श पथ
हो त्यही मार्ग
अचानक टुङ्गिएपछि
शेयर मार्केटको ढोकामा
मभन्दा अघिका प्राय
सटासट छिरेपछि भित्र
र सुनेपछि भित्रको आवाज-
“हेलो कम अन एभ्रिवडी कम अन !”
धेरै समय ढोकामा टोलाएर
भावुक वनेर
क्रुध्द बनेर
नोष्टाल्जिक हुदै
फर्केको हुँ म निस्सासिदै
यो आफ्नै सानो गोरेटोमा !

मसँगैका असंख्य साथीहरू
खिलखिलाउँदै जाँदै छन उतै
म तिनीहरूको संझनाले मर्लान्त छु
विचरा तिनीहरू !

जसको एक आदेशमा हिजो
सिङ्गै बस्ती उठ्थ्यो सुत्थ्यो
ऊ आज रुदै रुदै हिड्दैछ
आफ्नै मन्त्री कमरेडको
टेवुल पुछ्ने जागिरको लागि
जसले बोकेको बन्दूकको डरले
जो सदरमुकाममा लुकेको थियो
र राजधानी छिरेको थियो
उसैको जुत्ता पुछ्नु पर्ने छ भोलिबाट
उसले बोकेको झण्डाले
अघि अघि घाँस बोकेर हिडेको छ
जसको नामबाट पथ बनेको थियो
उही डाइनामिक खलनायक
उसैको पछि पछि छन
एक बगाल भुपू योध्दाहरू
खसी बाख्रा जस्तै
म स्वतन्त्र गोरेटोमा उभिएर
यो छत्रभङ्ग हेर्न अभिसप्त छु ।

यसरी पुरानो वलिदान मार्ग
नाम फेरिएको आदर्श मार्ग
आज टुकुचा मार्गमा फेरिएको छ
मेरा भुपू कमरेडहरू
शेयर मार्केटमा छन
म निस्सासिदै त्यहाँबाट फुत्केर
छु यौटा गोरेटोमा !

मलाई हतारमा कुनै नाम राख्नु छैन
यो नविन गोरेटोको
आदर्श मार्ग ठोक्किए पछि
शेयर मार्केटको ढोकामा
बाटोको नाम राख्ने हतारोमा छैन म
नामै राखे पनि
राखिदिउँला-
अनुसन्धान पथ
किन कि मैले अनुसन्धान गर्नु छ
असंख्य लासहरू
र निष्कर्ष निकाल्नु छ
किन महामारीलेझैं मरे तिनीहरू
पल्टाएर इतिहासका पानाहरू
पुगेर पेरिससम्मै
चढेर आइफल टावर
हेर्नु छ –
कसरी हारे कम्युनार्डहरू
रुसको बाटो भएर मंगोलिया हुदै
चिङकाङसाङ झर्नु छ
सवै ठाउँको माटो परिक्षण गरेर
सवै ठाउको बाटो परिक्षण गरेर
म फर्कनु छ नेपाल
र निकाल्नु छ नयाँ निष्कर्ष
आफ्नै गोरेटोमा उभिएर
यिनै कुरा सोच्दै छु म !

सोच्दै छु –
कसरी सहिदपथ
शेयर मार्केट पथमा बदलियो
यो कुराको जवाफ चाहिएको छ मलाई !

म अहिले आफ्नै गोरेटोमा छु
सोचिरहेछु भोलिको वारेमा !

प्रतिक्रियाहरु