बाँस्तोलाको अन्त्येष्टि गरिदै

२०७५ आश्विन २८ गते, आईतवार

काठमाडौं , २८ असोज । नेपाली कांग्रेसका दिवंगत नेता चक्रप्रसाद बाँस्तोलाको आज अपराह्न ४ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । गएराति निधन भएका बास्तोलाको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा १ बजेदेखि ४ बजेसम्म राखिने र त्यसपछि अन्त्येष्टि गरिने नेपाली कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बाँस्तोलाको शव अहिले उनकै निवास खुमलटारमा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन कांग्रेसका नेता तथा कार्यकर्ताहरु खुमलटार पुगेका छन् । ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेता बास्तोलाको गएराति आफ्नै निवास खुमलटारमा निधन भएको थियो । असहज महसुस गरेपछि उनलाई हिजो दिउँसो बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । तर अस्पतालले थप उपचार असम्भव रहेको भन्दै डिस्चार्ज गरेपछि उनलाई निवासमै लगिएको थियो ।
पार्टीका केन्द्रीय सदस्य, परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदूतसमेत भएका नेता बास्तोला प्रजातान्त्रिक आन्दोलनका अगुवामध्ये एक थिए । २०६९ साल पुस १४ गते मोरङको विराटचोकमा कूल पूजामा सहभागी हुँदै गर्दा उहाँलाई मस्तिष्कघात भएको थियो । तत्काल धरानमा उपचार गरी आईसीयूमा राख्न सिलिगुढी लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल पुर्‍याइएको थियो । दिल्लीमा लामो समय उपचारपछि काठमाडौं ल्याएर पनि सुधार नभएपछि उहाँलाई नर्सिङ केयरमा घरमै राखिएको थियो ।
२०४८ सालमा भारतका लागि नेपालको राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए । नेता बास्तोलाको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि सर्वसाधारणले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु