बहादुरीपूर्वक आत्मसमर्पण – बलराम तिमल्सिना

२०७५ बैशाख ४ गते, मंगलवार

•पहिलो पटक दाऊमा राखियो जनसत्ता – पासा पल्टियो दलाल पूँजीपतिको पक्षमा !
• दोश्रो पटक दाऊमा राखियो जनसेना- पासा फेरि पल्टियो दलाल पूँजीपतिकै पक्षमा !
• जुवाडेले अन्तिम सम्पत्ति थाप्यो पार्टी- त्यो पनि पल्टियो दलाल पूँजीपतिको पक्षमा !
• सम्पत्ति सकिएको जुवाडे हैरान भयो ।अव के थापेर जुवा खेल्ने ? ऐले ऊ शव्दको लफडा गरेर बसेको छ । ती शव्द हुन – जनयुध्द र ५०% । यो पासा पनि उतै पल्टने छ ।
• बढी डाइनामिक हुने रहरमा जुवाडेले पैलै भन्यो- पुल भत्काएर आएको छु , फर्किने कुरै हुन्न ।
• नयाँ घरको डाडु पन्यु हात पार्ने सपना देखेको डाइनामिक जुवाडेलाई बाहिरै परालको पिरा ओछ्याइदिने पक्का भएपछि ऊ आफ्नो स्वभाव #युटर्न गर्ने खालको छ भनेर नयाँ बहाना खोजिरहेछ ।
•अस्तिसम्म माओवाद पनि शव्दको लफडाभित्र थियो । हिजोआज एकाएक त्यो गायव भएको छ । किन गायव भयो माओवाद ? न जुवाडेलाई चिन्ता छ न च्याँखे थाप्ने र जितौरी थाप्नेलाई चिन्ता छ ।
• अव केही दिनमा जनयुध्दको शाव्दिक लफडा पनि माओवाद हराएकै बाटो जाने छ ।त्यो वेला पनि कोही बोल्ने छैन ।
• पचास प्रतिशतको लफडा त झन हरुवा गोरुको छेरुवा दाऊ हो , त्यो कसैले ला तँलाई भनेर दिदै दिदैन र दिने कुरा पनि आउँदैन ।खुट्टी अनुसारको जुत्ती पो हुन्छ कमसे कम ।
• अहिले प्रचण्ड एण्ड नारायण काजी कम्पनीलाई बहादुरीपूर्वक आत्मसमर्पण गर्ने नयाँ नयाँ भ्रम चाहिएको छ । सुँगुरको खोरमै पस्ने हो , पक्का छ तर सुँगुरकोजस्तै चार पाऊ टेकेर पस्ने कि “क्रान्तिकारी”शैलीमा बुरुक्क उफ्रेर पस्ने भन्ने लफडामा छन यिनीहरू ।
• माओवादी केन्द्रभित्र अझै पनि ठूलो संख्यामा इमान्दार क्रान्तिकारीहरू छन् र तिनीहरू यो समय भयानक पीडा र लज्जाको अवस्थामा छन । उनीहरूलाई चालु हालत पनि मन परेको छैन , तत्काल अर्को विकल्प पनि देखेको छैन र विद्रोह गर्ने आँट पनि छैन ।
• माओवादी केन्द्रभित्र अर्को पंक्ति छ त्यो भित्र भित्रै कुहिसकेको छ र जनताको बीचमा नराम्रोसँग गन्हाएको छ ।त्यो पंक्ति कुनै नाक जोगाउँने उपाए पाए जोगाएर नपाए उसै भने पनि एमालेमा छिरिहाल्ने मनोदशामा छ ।
• एमालेसँग आधारभूत सैध्दान्तिक मतभिन्नता छैन भनेर एकताको प्रकृयामा अघि बढिसकेपछि अव माओवादी केन्द्रलाई पछि फर्कने सुविधा छैन । पछि फर्के पनि अलग्गै हामी एमालेभन्दा ठीक छौं भन्ने हैसियत गुमिसकेको छ ।यो कुरा एमालेलाई मजाले थाहा छ र ऊ माओवादीलाई थकाउँन चाहन्छ ।
• यो एकता भाँडियो भने पनि माओवादिको ठूलो हिस्सा एमालेमा छिर्ने छ ।त्यसरी छिर्नेहरूलाई गाली गर्ने नैतिक हक माओवादी केन्द्रले पहिलै गुमाइसकेको छ ।
• माओवादो केन्द्रसँग दुई वटा विकल्प छन् , ती हुन – पहिलो,शव्दको लफडा छोडेर जसरी पनि एकतामा जाने र वाँडिचुडी खाने । दोश्रो गंभीर ढङ्गले यो विचलनप्रति पश्चाताप गर्ने र बदलिने ।
• आज सिङ्गो पार्टी जहाँ पुगेको छ , त्यो हेर्दा दोश्रो विकल्प तलका कार्यकर्ताले मात्र रोज्न सक्छन् । नेतृत्व डफ्फा विचलनको पराकाष्ठामा पुगेको हुनाले उसको वर्ग चरित्रले कसैगरी फर्कन दिदैन ।त्यो डफ्फा एमालेमा गए पनि नगए पनि दलाल पूँजिवादी व्यवस्थाको चुत्थो नोकर बनेर सकिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु