बसामाडीका किशोरी : यौनका कुरामा निर्धक्क

२०७२ भाद्र १२ गते, शनिबार

काठमाडौँ, १२ भदौ । यौनका कुरा चल्दा लाजले भुतुक्कै हुने बसामाडीका किशोरी अहिले निर्धक्कसँग समाधानको गाँठो फुकाइदिन साथीसङ्गी वा आफन्तसँग आग्रह गर्ने गर्छन् ।
बसामाडी मकवानपुर जिल्लामा पर्छ । उमेर पुगेका युवती जो कोही पनि लजाउने गर्छन् यौनका कुरा गर्दा । तर, बसामाडीका युवती भने किशोरी जीवनमा आइपर्ने समस्या, अपनाउनुपर्ने सजगता र आफ्ना अधिकारलगायतका विषयमा खुलेर संवाद गर्न रुचाउन थालेका छन् ।
बसामाडीमा स्थापना गरिएको संवाद क्लब उनीहरुका लागि अहिले बरदान सावित भएको छ । समस्या पर्दा उनीहरु एकापसमा भेला भई यौनका बारेमा छलफल गर्छन् । शैक्षिक ज्ञान हासिल गर्छन् र व्यावहारिक कुरा पनि । विशाखा नेपाली संवाद केन्द्रकी एक सदस्य हुनुहुन्छ । उहाँ संवाद गर्न डराउनुहुन्न । भाषण गर्नुहुन्छ, बोल्न र परिचय दिन अग्रसर हुनुहुन्छ र सामूहिक छलफल तथा कार्यक्रममा समेत प्रस्तुत हुनुहुन्छ ।
‘संवाद क्लबमा आएपछि मैले धेरै सिकेँ । घरमा पढ्न मन लाग्दैनथ्यो । स्कुलमा शिक्षकको डरले पढ्न मन लाग्दैनथ्यो । तर, यहाँ आएपछि स्वतन्त्र रुपले अध्ययन गर्न पाएपछि सक्षम भएको महसुस गरेकी छु” – उहाँले भन्नुभयो ।
केन्द्रमा सिकेका कुरा विशाखाले घरमा गएर परिवारबीच आदानप्रदान गर्ने गरेको सुनाउनुभयो । “म ८ कक्षामा पढ्दा पनि बोल्न र परिचय दिन डराउँथे । केन्द्रमा आएपछि मनोबल उच्च बनाएको छु” – विशाखाले भन्नुभयो ।
अमृता विष्टको पनि संवाद केन्द्रमा आउनुअघि समस्या उस्तै थियो । कक्षामा बोल्न डराउने, पढ्न मन नलाग्ने र व्यवहार पनि नराम्रो । जब अमृता संवाद केन्द्रमा आउन थाल्नुभयो तब उहाँको व्यवहारमा परिवर्तनसँगै आफूलाई सक्षम बनाउन केन्द्रीकृत हुनुभयो ।
केन्द्रकी अर्की सदस्य अञ्जना सुनार विद्यालय नियमित नजाने, घरमा वा साथीसँग झगडा गर्ने गर्नुहुन्थ्यो । जब उहाँ संवाद केन्द्रमा आउन थाल्नुभयो तब नयाँ व्यवहारमा परिवर्तन आएको बताउनुभयो ।
त्यसैगरी, इन्दिरा सुनारले तीन वर्षअघि आर्थिक अवस्था कमजोर भएको बताउँदै विद्यालय छोड्नुभएको थियो । साथीसङ्गीले संवाद क्लबमा आउन आग्रह गरेपछि उहाँले पुनः विद्यालय जान थाल्नुभयो । अञ्जना, विशाखा र इन्दिराजस्ता २३ जना किशोरीले स्थापना गरेको संस्था नै संवाद क्लब हो । उहाँहरु नियमित रुपमा सामाजिक कुरीतिविरुद्घ सशक्त हुनुहुन्छ । जीविकोपार्जनमा सुधार ल्याउन, अन्याय, परम्परा, कुसंस्कार र छुवाछूतविरुद्ध सीमान्तकृत समुदायलाई सङ्गठित तथा क्षमतावान बनाउन नियमित रुपमा दिनको दुई घन्टा र हप्ताको छ दिन छलफल गर्नुहुन्छ ।
यतिखेर बसामाडी समुदायमा संवादको सकारात्मक प्रभाव पर्दै गएको छ । किशोरीमा समाजप्रतिको सकारात्मक चिन्तन बढेको छ । चाइसुकुम्बासी र जम्बुचौतारा टोलमा खानेपानीको मुहान निर्माण र सरसफाइ, चेलीबेटी बेचबिखनविरुद्ध सडक नाटक, जुवातास खेल्ने समूहविरुद्ध अग्रसरता नै दैनिकी बनेको सानुकान्छी दर्जीले बताउनुभयो ।
संवाद केन्द्रले किशोरी भवन स्थापनाका लागि प्रतिव्यक्ति रु पाँच सङ्कलन अभियान थालेको छ । यस अभियानकी संयोजक शर्मिला वर्देवा भन्नुहुन्छ – “यसपालि देउसीभैलो खेलेर थप रकम जम्मा गर्छौं । हाम्रो यो अभियान समाजका कुरीतिविरुद्ध हो । किशोरी भवन महिलामाथि हुने सम्पूर्ण भेदभाव र महिला हिंसाविरुद्ध तथा किशोरी अधिकारको प्रतीकका रुपमा रहनेछ ।”
संवाद केन्द्रकी सहजकर्ता बिजुला सुनारका अनुसार किशोरीले समुदायमा गाँजा सेवन तथा जाँडरक्सीविरुद्ध घरदैलो अभियान, वन कार्यालयसँग मिलेर सामुदायिक वनमा वृक्षारोपण र छुवाछूतविरुद्ध छलफल कार्यक्रम सञ्चालन गरेको बताउनुहुन्छ ।
छ महिनाअघि स्थापना भएको संवाद केन्द्रको स्थापना गर्न र महिला वर्गलाई सामाजिक कार्यमा गोलबद्ध पार्न स्ट्रोम फाउन्डेसन नर्वे र नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन) ले सहयोग गर्दै आएका छन् । राजाराम कार्की/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु