बल्ल पार्टी शुद्धीकरण भएको छ : गजुरेल

२०७३ जेष्ठ १० गते, सोमबार

काठमाडौं, १० जेठ । नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेलले नराम्रा व्यक्तिहरुले पार्टी छाडेकाले अब पार्टी बल्ल शुद्धीकरण भएको बताएका छन । सिन्धुली जिल्ला समितिले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले कम्युनिस्ट आन्दोलनका अस्तित्वहीन व्यक्तिहरुले पार्टी छाड्दैमा पार्टीलाई कुनै असर नपर्ने ठोकुवा गरे । अहिले एकताको ठूलो हावाहुरी चलेको र हावाहुरीमा पार्टी छाडेर जानेलाई पतिङ्गरको सङ्ज्ञा दिँदै उनले अडिन नसक्नेहरु सबै उडेर गएकाले आफूहरुका एजेन्डामा कुनै असर नपरेको बताए । अहिले कम्युनिस्ट सबै एकता भयो भनेर माओवादीले हल्ला फैलाए पनि कम्युनिस्ट र गैरकम्युनिस्टको मिश्रण भएको र निर्वाचनमुखी भएको उनको टिप्पणी थियो । यही असार ५ गते पार्टीको राष्ट्रिय भेला हुने जानकारी दिँदै उनले पार्टीले तत्काल आन्दोलन नगर्ने तर पार्टी र सङ्गठनलाई पुनर्गठन गर्ने बताए । युद्धकालीन मुद्दाका सवालमा माओवादीहरुसँग कार्यगत एकता हुने पनि उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु